Logo

१२ माघ, काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित पूर्व–पश्चिम राजमार्गमा गुडिरहेको डिजेल ट्यांकरमा आगलागी भएको छ।

बाराको अमलेखगञ्जबाट रुपन्देहीतर्फ जाँदै गरेको लु१ख ६६०९ नम्बरको डिजेल लोड भएको ट्यांकर सोमबार दिउँसो गुडिरहेको अवस्थामा अचानक इन्जिनमा आगलागी भएको प्रहरीले जनाएको छ।

हेटौंडा उपमहानगरपालिका तथा अमलेखगञ्ज आयल निगमका दुईवटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र हाल सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

आगलागीका कारण ट्यांकरको अगाडिको भागमा क्षति पुगेको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रुपन्देहीको सैनामैना नगरपालिका–३ का ५८ वर्षीय ट्यांकर चालक कृष्णबहादुर थापा भने सकुशल रहेको प्रहरीले पुष्टि गरेको छ।


सम्बन्धित समाचार