१३ माघ, वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अजयकुमार चौरसिया दुर्घटनामा परी घाइते भएका छन् । आफ्नै निवासको कम्पाउण्डमा राखिएको इँटामा चिप्लिएर लड्दा उनको देब्रे खुट्टाको घुँडामुनिको भाग भाँचिएको छ ।
वीरगञ्जस्थित सीता अस्पतालमा प्रारम्भिक उपचार र प्लास्टर गराएपछि उनी हाल घरमै आराम गरिरहेका छन् । निर्वाचनको मुखमा मुख्य उम्मेदवार नै शारीरिक रूपमा ‘असमर्थ’ भएपछि पर्सा २ को चुनावी समीकरण र प्रचार शैलीमा नयाँ मोड आउने संकेत देखिएको छ ।
स्रोतका अनुसार चौरसिया वीरगञ्जस्थित आफ्नै घरको कम्पाउण्डमा हिँडडुल गर्ने क्रममा त्यहाँ राखिएको इँटाको थुप्रोमा झुक्किएर लड्न पुगेका थिए । तत्कालै अस्पताल लगिएका उनको खुट्टामा गहिरो चोट लागेको र केही समय हिँडडुल गर्न नमिल्ने चिकित्सकहरूले बताएका छन् । उनको अवस्था अहिले सामान्य रहे पनि चुनावी दौडधुपका लागि भने यो चोट ‘बाधक’ बन्न सक्ने देखिएको छ ।
पर्सा क्षेत्र नम्बर ३ का कांग्रेस उम्मेदवार सुरेन्द्र चौधरीका अनुसार प्रत्यक्ष निर्वाचनमा उम्मेदवार आफैं मतदाताको घरदैलोमा पुग्नुको मनोवैज्ञानिक प्रभाव बेग्लै हुन्छ । तर, चौरसियाको यो स्वास्थ्य अवस्थाले उनलाई केही समयका लागि भौतिक उपस्थितिबाट टाढा राख्नेछ ।
“अजय चौरसिया यो क्षेत्रका अनुभवी र प्रभावशाली नेता हुन् । चुनावको यो संवेदनशील समयमा घरदैलोमा जान नपाउनु उम्मेदवारका लागि चुनौती हो,” उनी भन्छन्, “अब उनको प्रचार टोलीले कसरी यसलाई ‘सिम्पथी’ (सहानुभूति) भोटमा बदल्छ वा डिजिटल माध्यमबाट कसरी जोडिन्छ, त्यसले नतिजा तय गर्नेछ।”
सहज छैन सातौँ पटकको यात्रा
चौरसियाका लागि यसपटकको चुनाव केवल गणितीय प्रतिस्पर्धा मात्र होइन, वैचारिक चुनौती पनि बनेको छ। गत भदौ २३ र २४ गते भएको ‘जेन्जी’ आन्दोलनले राजनीतिमा नयाँ अनुहार र युवा नेतृत्वको वकालत गरेको थियो । तर, सोही आन्दोलनको मर्म विपरीत सातौँ पटक पनि पुरानै अनुहार दोहोरिएको भन्दै क्षेत्र नम्बर २ का युवा मतदाताहरूमा एक किसिमको असन्तुष्टि देखिएको छ ।
“एकातिर युवा पुस्ताको ‘नो नट अगेन’ को लहर र अर्कोतिर शारीरिक चोटले चौरसियाको सातौँ पटकको संसद् यात्रा निकै चुनौतीपूर्ण बनेको छ,” उनी निकट मानिएका स्थानीय भन्छन्, “अन्तिम समयमा पाएको टिकट र अहिलेको स्वास्थ्य अवस्थाले उनलाई मतदातासम्म पुग्न र आफ्ना एजेण्डा राख्न कठीन बनाउनेछ।”
पर्सा २ मा यसपटक निकै रोचक प्रतिस्पर्धा छ । चौरसियालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) युवा उम्मेदवार मनोज कुमार चौधरी , नेकपा एमालेकी युवा उम्मेदवार रिमा कुमारी यादव, राप्रपाकी वीना जैसवाल र जनमत पार्टीकी रञ्जु साहले चुनौती दिइरहेका छन् । युवा र महिला उम्मेदवारहरू सक्रियताका साथ घरदैलोमा जुटिरहेका बेला चौरसिया ‘बेड रेस्ट’ मा रहनुले विपक्षीहरूलाई केही सहज वातावरण बनाइदिएको चर्चा हुन थालेको छ ।
यद्यपि, चौरसियाको बलियो संगठन र पुरानो विरासतका कारण उनका कार्यकर्ताहरू भने “नेताजी आराम गरे पनि हामी मैदानमा उत्रन्छौँ” भन्दै सक्रिय देखिएका छन्।
चौरसिया निकट मानिने धिरज गुप्ताका अनुसार, अबको केही दिन उनी सामाजिक सञ्जाल र भिडियो सन्देशमार्फत मतदातासँग जोडिनेछन् भने उनका प्रतिनिधि र परिवारका सदस्यहरूले घरदैलो अभियानलाई निरन्तरता दिनेछन् ।
यो दुर्घटनाले चौरसियाको चुनावी यात्रामा केही समयका लागि विराम लगाए पनि, मतदातामाझ पुग्ने उनको इच्छाशक्ति र कार्यकर्ताको सक्रियताले पर्सा २ को निर्वाचन झन् पेचिलो बन्ने देखिएको छ।
















