१३ माघ, काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा बदलाब आएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी तथा हिमाली भूभागमा बदली हुनुका साथै केही स्थानमा वर्षा र हिमपातको प्रक्षेपण गरिएको छ।
हाल कोशी र मधेस प्रदेशका तराईका केही भूभागमा बिहानीपखदेखि नै तुवाँलो लागेको छ। महाशाखाका अनुसार देशका हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहेको छ। तर, दिउँसोदेखि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा बादल लाग्ने र मौसममा फेरबदल आउने देखिएको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। यसका साथै कर्णाली र सुदूरपश्चिमका केही पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ।
आज रातिबाट मौसम थप सक्रिय हुने देखिन्छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ। विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा मध्यम वर्षा तथा तराईका थोरै स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा चट्याङ्गको समेत सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। वर्षा र हिमपातका कारण तापक्रममा गिरावट आउन सक्ने र दैनिक जनजीवनमा सामान्य असर पर्न सक्ने भएकाले आवश्यक पूर्वतयारी अपनाउन मौसमविद्हरूको सुझाव छ।
















