१३ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा व्यक्त गरेको टिप्पणीप्रति निर्वाचन आयोगमा उजुरी परेको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका शाहले ओलीलाई ’हत्यारा र आतंकवादी’ जस्ता शब्द प्रयोग गरी मानमर्दन गरेको भन्दै कारबाहीको माग गरिएको हो । शाहको यस अभिव्यक्तिले घृणा फैलाएको र निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै धर्मराज तिमिल्सिनाले आयोगमा कारबाहीका लागि उजुरी दर्ता गराएका हुन् ।
एमाले अध्यक्ष ओलीले हालै सार्वजनिक रूपमा राजनीतिक दलका प्रमुख नेताहरूबीच पारदर्शी, बौद्धिक र नम्रतामा आधारित खुला बहस (डिबेट) को प्रस्ताव राख्दै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिको जवाफ दिने क्रममा बालेन शाहले सामाजिक सञ्जालमार्फत ओलीमाथि ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी र देश जलाउने’ जस्ता अत्यन्तै गम्भीर र विवादास्पद आरोपहरू लगाएका थिए।
उजुरीकर्ता तिमिल्सिनाका अनुसार शाहका यी अभिव्यक्तिहरू लोकतान्त्रिक बहसको मर्मविपरीत र मानमर्दन गर्ने प्रकृतिका छन् । उजुरीमा भनिएको छ,“कुनै पनि अदालतको फैसला वा ठोस प्रमाणबिना एक पूर्वप्रधानमन्त्री र राजनीतिक दलको प्रमुखमाथि यस्ता गम्भीर लाञ्छना लगाउनु मतदातालाई भ्रमित पार्ने र समाजमा घृणा फैलाउने कार्य हो।“ आगामी फागुन २१ गते हुने निर्वाचनका लागि जारी आचारसंहिता २०७९ को दफा बमोजिम कसैको चरित्र हत्या गर्ने वा द्वेषपूर्ण अभिव्यक्ति दिने कार्य निषेध गरिएको छ। उजुरीकर्ताले यस्ता भ्रामक र अपुष्ट आरोपहरू नदोहो¥याउन आयोगबाट स्पष्ट निर्देशन र दोषीमाथि कानुन बमोजिमको कारबाही माग गरेका छन् ।
प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला एक बहालवाला महानगर प्रमुखले पूर्वप्रधानमन्त्रीमाथि लगाएको यो गम्भीर आरोपले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ। विश्लेषकहरूका अनुसार प्रमाणविना लगाइने यस्ता लाञ्छनाले निर्वाचनको स्वस्थ प्रतिस्पर्धालाई कमजोर बनाउँछ।
निर्वाचन आयोगले यस उजुरीमाथि प्रारम्भिक अध्ययन गरी शाहसँग स्पष्टीकरण सोध्ने तयारी गरेको बुझिएको छ। यदि आचारसंहिता उल्लंघन भएको पुष्टि भएमा आयोगले जरिवाना वा अन्य कानुनी प्रक्रिया अगाडि बढाउन सक्ने प्रावधान रहेको छ।
















