Logo

१३ माघ, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुको उपस्थितिमा बहुदरमाई नगरपालिका वडा नं ६ भौराटारमा सोमबार साँझ रास्वपाको वडा भेला सम्पन्न भएको छ ।

भेलामा विभिन्न पृष्ठभूमिबाट आएका स्थानीय युवाहरू स्वतःस्फूर्त रूपमा रास्वपासँग जोडिँदै आगामी निर्वाचनको चुनावी अभियानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले पुरानो राजनीतिक शैलीप्रति असन्तुष्टि जनाउँदै घण्टी छापको पक्षमा जनमत निर्माण गर्ने जिम्मेवारी लिने बताएका छन् ।

No photo description available.
सुशील कुमार कानु

भेलालाई सम्बोधन गर्दै उम्मेदवार कानुले युवा शक्ति नै देशको राजनीतिक दिशा बदल्ने मुख्य आधार भएको बताए । “पुरानो राजनीति, चरम निराशा र अवसरको अभावबाट दिक्क भएका युवाहरू आज आशा र विश्वासका साथ रास्वपासँग जोडिएका छन्,” कानुले भने, “यो केवल सामान्य समर्थन होइन, मधेशको राजनीतिमा परिवर्तनको स्पष्ट सङ्केत हो । जिल्लाभर युवाहरूको यो लहरले नयाँ राजनीतिक संस्कार स्थापित गर्नेछ।”

कार्यक्रममा रास्वपाका नगर अध्यक्ष चन्दन यादवले पारदर्शी र जनमुखी राजनीतिका लागि रास्वपा नै एक मात्र विकल्प बनेको दाबी गरे । स्थानीय युवाहरूको सहभागिताले पार्टीको हौसला बढाएको उनको तर्क थियो ।

भेलामा सहभागी स्थानीय युवा विकास कुशवाहले पुराना दल र नेताहरूप्रति कडा असन्तुष्टि व्यक्त गरे । उनले भने, “हामीले धेरै नेताहरू देख्यौँ र धेरैका भाषण पनि सुन्यौँ, तर भुइँतहमा काम कहिल्यै देखिएन । अब हामी सचेत भइसकेका छौँ । सफा राजनीति र जवाफदेही नेतृत्वको खोजीमा हामीले घण्टी रोज्ने निर्णय गरेका हौँ।”

पर्सा २ मा नेपाली कांग्रेस र नेकपा एमाले जस्ता स्थापित दलका उम्मेदवारहरू चुनावी मैदानमा रहँदा रास्वपाको यो ‘युवा केन्द्रित’ भेला र बढ्दो आकर्षणले चुनावी समीकरणलाई थप पेचिलो बनाउने देखिएको छ । बहुदरमाई-६ का अधिकांश युवाहरूले सामूहिक रूपमा घण्टीमा मतदान गर्ने निर्णय गर्नुलाई राजनीतिक विश्लेषकहरूले परम्परागत ‘भोट बैंक’ मा रास्वपाको हस्तक्षेपको रूपमा लिएका छन् ।


सम्बन्धित समाचार