१३ माघ, वीरगञ्ज । डेढ वर्षअघि चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएको गणपति डिलक्स बस उत्खनन गर्ने क्रममा मानव कङ्काल फेला परेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका-५ दोन्द्राङ बेँसी नजिक त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा रहेको बसबाट एक जनाको कङ्काल भेटिएको हो ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीका अनुसार बसको करिब ४० प्रतिशत भाग काटेर बाहिर निकाल्ने क्रममा कम्मरभन्दा माथिको भाग मात्र रहेको मानव कङ्काल फेला परेको हो । उक्त कङ्काल पहिचान तथा थप परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको उनले जानकारी दिए ।
सिमलताल दुर्घटनास्थलभन्दा करिब ३०० मिटर तल त्रिशूली नदीको किनारमा १६ दिनअघि बसका पाटपुर्जा देखिएपछि खोजी तथा उत्खनन कार्य तीव्र पारिएको थियो । इलाका प्रहरी कार्यालय आँबुखैरेनी, सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवन र नम्बर २३ मनकामना गण भानु तनहुँबाट खटिएको संयुक्त सुरक्षा टोलीले बस फेला पारेको हो ।
विसं २०८१ असार २८ गते बिहान काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश ०३ ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३ ००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालको झोलुङ्गे पुल नजिकै लेदोसहितको पहिरोमा परेर त्रिशूली नदीमा खसेका थिए । सो दुर्घटनापछि दुवै बस बेपत्ता भएका थिए ।
दुर्घटनाका समयमा दुवै बसमा सवार ६५ यात्रुमध्ये गणपति यातायातको बसमा रहेका तीन जना यात्रु पौडेर ज्यान जोगाउन सफल भएका थिए । बाँकी यात्रुहरू बससँगै बगेको प्रहरीको भनाइ छ । फेला परेको कङ्कालले दुर्घटनामा बेपत्ता भएका यात्रुहरूको खोजी र पहिचान प्रक्रियालाई नयाँ मोड दिने अपेक्षा गरिएको छ ।
















