Logo

१३ माघ, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानमा लाग्ने भन्सार महसुल १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउने घोषणा गरेका छन् । सन् २०२५ मा दुई देशबीच भएको ऐतिहासिक व्यापार सम्झौतालाई उल्ट्याउँदै ट्रम्पले सामाजिक सञ्जालमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन् ।

दक्षिण कोरियाली संसद्ले अघिल्लो व्यापार सम्झौताको पूर्ण पालना र आवश्यक अनुमोदन नगरेको आरोप लगाउँदै ट्रम्पले असन्तुष्टि जनाएका छन् । उनका अनुसार सम्झौताका शर्तहरू कार्यान्वयन नहुँदा अमेरिकी उद्योग र श्रमिकहरूलाई नोक्सान पुगेको छ, जसका कारण कडा कदम चाल्नुपरेको हो ।

नयाँ महसुल दरले विशेषगरी दक्षिण कोरियाबाट अमेरिकामा निर्यात हुने कार, औषधि तथा काठजन्य सामग्रीलाई प्रत्यक्ष असर पार्ने देखिएको छ । निर्णय सार्वजनिक हुनासाथ दक्षिण कोरियाली सेयर बजार ‘कोस्पी’मा ठूलो गिरावट आएको छ भने हुन्डाई र किया जस्ता प्रमुख कार उत्पादक कम्पनीका सेयरहरू दबाबमा परेका छन् ।

यसैबीच, उत्पन्न अवस्थाबारे छलफल र समाधान खोज्न दक्षिण कोरियाली व्यापार मन्त्री तत्काल वासिङ्टन प्रस्थान गर्ने तयारीमा रहेको जनाइएको छ । दक्षिण कोरियाली सरकारले कूटनीतिक वार्तामार्फत समस्या समाधान गर्ने प्रयास गर्ने संकेत दिएको छ ।

यसअघि पनि राष्ट्रपति ट्रम्पले व्यापार घाटा र घरेलु उद्योग संरक्षणको विषय उठाउँदै युरोपेली युनियन र क्यानडामाथि यस्तै किसिमको आर्थिक दबाब दिने चेतावनी दिएका थिए । पछिल्लो निर्णयले अमेरिका–दक्षिण कोरिया व्यापार सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले टिप्पणी गरेका छन् ।


सम्बन्धित समाचार