१३ माघ, जीतपुर (बारा) । आर्थिक नगरी र औद्योगिक करिडोरका रूपमा परिचित बारा निर्वाचन क्षेत्र नम्बर ४ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन निकै रोचक र चुनौतीपूर्ण मोडमा पुगेको छ। अघिल्लो निर्वाचनमा १० हजारभन्दा बढी मतान्तरले विजयी भएका पूर्वमन्त्री एवं नेकपा (एमाले) का उम्मेदवार किसान श्रेष्ठलाई यसपटकको फेरिएको राजनीतिक समीकरण र नयाँ प्रतिस्पर्धीहरूले कडा चुनौती दिइरहेका छन् ।
२०७९ को निर्वाचनमा नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनबाट निर्वाचित भएका श्रेष्ठ यसपटक आफ्नै दल एमालेको बलियो सङ्गठनको भरमा मैदानमा छन् । यद्यपि, ‘जेनजी’ आन्दोलन र बदलिँदो राजनीतिक परिवेशका कारण जनाधार खस्किएको स्थानीयको विश्लेषण छ । अर्कोतर्फ, ९ वर्षपछि आफ्नै चुनाव चिह्न ‘रूख’ मा मतदान गर्न पाउँदा नेपाली कांग्रेसका कार्यकर्ताहरूमा छुट्टै उत्साह देखिएको छ ।
यस क्षेत्रमा एमालेका श्रेष्ठका अतिरिक्त नेपाली कांग्रेसका युवा नेता श्यामबाबु गुप्ता, नेकपाका अजय कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रहबर अन्सारी र लोसपा–जसपा गठबन्धनका सञ्जु साह मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । यसबाहेक पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँको उम्मेदवारीले पनि यहाँको चुनावी गणितलाई प्रभावित बनाएको छ । कुनै बेला श्रेष्ठका व्यावसायिक साझेदार रहेका खनाल अहिले एमालेकै असन्तुष्ट पक्षलाई साथ लिएर ‘श्रेष्ठ हराऊ’ अभियानमा लागेको चर्चा छ ।
पूर्व संविधानसभा सदस्य जयप्रकाश यादवका अनुसार मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसकै उम्मेदवारबीच हुने देखिन्छ । यादव भन्छन्, “उत्तरी भेगमा रास्वपाको चर्चा भए पनि चुनाव जित्न आवश्यक सङ्गठन र कार्यकर्ता उनीहरूसँग छैन, प्रतिस्पर्धा कांग्रेस र एमालेकै उम्मेदवार बिच हुनेछ।” रास्वपाका उम्मेदवार रहबर अन्सारी पर्साबाट बारा छिरेकाले उनको प्रभाव उत्तरी भेगमा देखिए पनि दक्षिणी ग्रामीण क्षेत्रमा उनी कमजोर रहेको विश्लेषण गरिन्छ ।
२०७९ को समानुपातिक मतलाई आधार मान्दा एमाले करिब १४ हजार ८ सय मतका साथ पहिलो स्थानमा थियो भने लोसपा १० हजार ९ सय र कांग्रेस ६ हजार ४ सय मतका साथ पछाडी थियो । एमाले उम्मेदवार श्रेष्ठले २७ हजारभन्दा बढी एमालेको एकल मत रहेको दाबी गर्दै विकास निर्माण र सदनमा उठाएको आवाजका कारण आफ्नो जित सुनिश्चित रहेको बताएका छन् ।
यता, कांग्रेस उम्मेदवार श्यामबाबु गुप्ता पार्टीभित्रको विद्रोह र गगन थापा समूहको प्रभावबाट टिकट हात पार्न सफल भएका हुन् । उनले देशलाई युवा नेतृत्व आवश्यक रहेको र संसद्मा मजबुत आवाज उठाउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।
जीतपुरसिमरा उपमहानगरसहित ३८ वटा वडा समेटिएको यो क्षेत्र आर्थिक रूपले निकै सबल छ । वीरगञ्ज पथलैया औद्योगिक करिडोर, विशेष आर्थिक क्षेत्र (सेज), पर्सा राष्ट्रिय निकुञ्ज र पेट्रोलियम पाइपलाइन जस्ता राष्ट्रिय गौरवका आयोजनाहरू यसै क्षेत्रमा पर्छन् । तर, औद्योगिक प्रदूषण, कृषि सिँचाइको अभाव र सुकुम्बासी समस्या यहाँका मतदाताका मुख्य गुनासाहरू हुन् ।
फागुन २१ पछि आउने निर्वाचन परिणामले बारा-४ मा ‘पुरानै विरासत’ कायम रहन्छ वा ‘नयाँ अनुहार’ले बाजी मार्छ भन्ने फैसला गर्नेछ।
















