१३ माघ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भएको भनिएको अनियमितता सम्बन्धी भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा महत्त्वपूर्ण सुनुवाइ हुँदैछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनालाई विपक्षी बनाई दायर गरेको उक्त मुद्दाको सुनुवाइका लागि न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा पेसी तोकिएको छ । अख्तियारले यस प्रकरणमा ३ खर्ब ५१ करोड रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै कानुनको गम्भीर उल्लङ्घन भएको जिकिर गरेको छ ।
विशेष अदालतमा विचाराधीन यस मुद्दामा पूर्वमन्त्री बस्नेतमाथि कुनै ठोस अध्ययनविना नै आफ्नो प्रस्तावमा टेरामक्स प्रविधि खरिद गर्ने निर्णय गराएको मुख्य आरोप छ । स्वायत्त निकायका रूपमा रहेको दूरसञ्चार प्राधिकरणलाई बजेट तथा कार्यक्रम स्वीकृतिको बहानामा अन्तर्राष्ट्रिय कल मोनिटरिङ र भीओआईपी नियन्त्रणका लागि प्रणाली खरिद गर्न दबाब दिएको दाबी अख्तियारको छ। त्यसैगरी, प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झाले कानुनी पूर्वाधार नै तयार नभएको अवस्थामा नागरिकको गोपनीयतामा असर पर्ने गरी खरिद प्रक्रिया अगाडि बढाएको भन्दै उनीमाथि पनि बदनियतपूर्ण काम गरेको आरोप लगाइएको छ ।
यस प्रकरणमा तत्कालीन बोर्ड सदस्यहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीको भूमिकालाई पनि अख्तियारले शङ्कास्पद मानेको छ । सर्वोच्च अदालतले व्यक्तिको कल डिटेल रेकर्डमा पहुँचका लागि अदालतको अनुमति अनिवार्य हुने भनी निर्देशनात्मक आदेश जारी गरिसकेको अवस्थामा, त्यसको विपरीत हुने गरी निर्णय प्रक्रियामा सहभागी भएको आरोप उनीहरूमाथि छ । बयानका क्रममा आरोपितहरूले नेतृत्वको दबाबमा काम गरेको बताए पनि अख्तियारले त्यसलाई विश्वासिलो नमानेपछि उनीहरू सहितका पदाधिकारीहरू विरुद्ध मिलेमतोको अभियोगमा मुद्दा अगाडि बढेको हो ।
















