Logo

१३ माघ, चितवन । चितवनको माडीमा वन्यजन्तुको आक्रमणबाट एक युवकले ज्यान गुमाएका छन् ।

घाँस दाउराका लागि घर नजिकैको जङ्गलतर्फ गएका बेला गैँडाको निशानामा पर्दा माडी नगरपालिका–१ निवासी २२ वर्षीय अशोक भट्टराईको मृत्यु भएको हो । सोमबार दिउँसो स्थानीय मरड खोला क्षेत्रमा पुगेका भट्टराईलाई अचानक गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । घटनालगत्तै उद्धार गरी उनलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज ल्याइए पनि उपचारकै क्रममा सोमबार राति उनको निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार, घाइते भट्टराईको अवस्था निकै चिन्ताजनक रहेकाले अस्पताल पुर्‍याए पनि चिकित्सकहरूले बचाउन सकेनन् । निकुञ्ज र मानव बस्तीको सिमानामा हुने यस्ता द्वन्द्वले स्थानीय बासिन्दामा त्रास बढाएको छ । विशेषगरी वन क्षेत्रमा आश्रित समुदायहरू वन्यजन्तुको उच्च जोखिममा रहने गरेका छन्, जसको पछिल्लो कडीका रूपमा यो दुखद घटना अगाडि आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार चालु आर्थिक वर्षमा मात्रै वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। संयोगवश, यी दुवै मृत्यु गैँडाकै आक्रमणका कारण भएका हुन् । निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको आवागमन बढ्दै जाँदा सुरक्षा चुनौती थपिएको भन्दै अधिकारीहरूले स्थानीयलाई वन क्षेत्रमा जाँदा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।


सम्बन्धित समाचार