१३ माघ, काठमाडौं । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको विभत्स हत्या भएको छ ।
जिल्लाको चिशंखुगढी गाउँपालिका–६ भदौरेको बोहोरे टोलमा बसोबास गर्दै आएका ८० वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको लुटपाटपछि हत्या भएको अवस्थामा शव फेला परेको हो । दम्पतीले घरमै सानो पसल सञ्चालन गर्दै आएका थिए, जहाँ अज्ञात समूहले लुटपाट गरी उनीहरूको हत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीका अनुसार घटनास्थलको प्रकृति हेर्दा हत्या निकै क्रूर तरिकाले गरिएको देखिएको छ, जसले गर्दा स्थानीय गाउँलेहरू यतिबेला निकै त्रसित बनेका छन् ।
भदौरे क्षेत्रमा छोटो समयको अन्तरालमा यो दोस्रो पटक घटेको दम्पती हत्याको घटना हो । यसअघि करिब एक महिना अगाडि मात्रै सोही वडामा ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको पनि त्यसैगरी हत्या भएको थियो । अघिल्लो घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेकै समयमा पुनः अर्को वृद्ध दम्पतीको हत्या हुनुले सुरक्षा संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको छ । वडाअध्यक्ष बलराम कटवालले पटक–पटक भएका यस्ता अपराधिक घटनाले गाउँमा असुरक्षाको वातावरण सिर्जना गरेको बताएका छन् ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको टोली परिचालन भइसकेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसी आफैँ पनि अनुसन्धानका लागि घटनास्थलतर्फ प्रस्थान गरेका छन् । प्रहरीले हाल घटनास्थललाई घेरा हालेर सूक्ष्म अध्ययन सुरु गरेको र हत्यामा संलग्नहरूको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ ।
अपराधीक क्रियाकलापमा संलग्नहरुले किन वृद्ध दम्पतीलाई नै निशाना बनाइरहेका छन् भन्नेबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको बताए पनि ठोस विवरण आउन सकेको छैन । घटनामा संलग्नलाई कानुनी कठघरामा उभ्याउन नसकिएकै कारण धमाधम यस्ता घटना भैरहेका छन् ।
















