१३ माघ,वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ लिपनीविर्ता (लिपनीमाल) मा रहेको एक उद्योगमा आज भीषण आगलागी भएको छ। स्थानीय विजया श्री लेमिनेट प्रा.लि. मा रहेको बोइलर च्याम्बर पड्किएपछि आगलागी भएको हुनसक्ने अनुमान स्थानीयवासीहरूले गरेका छन्।
आगलागीको जानकारी पाएलगत्तै नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ। घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीका अनुसार उद्योगमा लागेको आगो निकै भीषण रहेको र नियन्त्रणका लागि थप जनशक्ति तथा दुई वटा वारुण आगो निभायने कार्य हुदै छ ।
“आगलागीको जानकारी पाउनासाथ हामी घटनास्थलमा आइपुगेका छौँ। आगो नियन्त्रण बाहिर रहेकाले सम्बन्धित निकायहरूलाई थप सहयोगका लागि जानकारी गराइसकेका छौँ,” ती प्रहरी अधिकारीले बताए। उनका अनुसार वारुण यन्त्रहरू केही बेरमै घटनास्थलमा पुग्ने र त्यसपछि आगो नियन्त्रणको प्रयास तीव्र बनाइनेछ।
हालसम्म आगलागी नियन्त्रणमा नआएकाले उद्योगमा भएको मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त हुन सकेको छैन। आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ तथा मेसिनरी उपकरणहरूमा ठूलो क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
















