Logo

१३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगेन्द्र सुनारको एउटा पुरानो अन्तर्वार्ताको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ ।

उक्त भिडियोमा उनले ‘नेपालमा गाई खान पाउनुपर्ने’ आशयको तर्क गरेको देखिएपछि चुनावी मैदानमा रहेका सुनार र उनको पार्टी रास्वपा दुवै अहिले रक्षात्मक अवस्थामा पुगेका छन् । विशेषगरी धार्मिक र सांस्कृतिक रूपमा संवेदनशील मानिएको यस विषयले निर्वाचनको संघारमा मतदाताहरूमाझ नकारात्मक सन्देश जान सक्ने भन्दै रास्वपाका अन्य उम्मेदवारहरूलाई समेत जवाफ दिन कठिनाइ भइरहेको बुझिएको छ । यस संवेदनशील विषयमा पार्टीको आधिकारिक धारणा बाहिर नआए पनि रास्वपाका मुख्य पदाधिकारीहरूले यसबारे मुख खोलेका छन् । महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त भिडियो सुनारले विगतमा दलित मुक्ति आन्दोलनका क्रममा आक्रोशित भएर दिएको पुराना अभिव्यक्ति हुन सक्ने टिप्पणी गरेका छन् ।

बुर्लाकोटीका अनुसार मानिसको समय र परिस्थितिसँगै विचार परिवर्तन हुने भएकाले सुनारले अहिले पनि त्यही धारणा राख्छन् भन्नेमा विश्वास गर्न सकिँदैन । उता प्रवक्ता मनिष झाले भने सुनारले भिडियो सन्देशमार्फत प्रष्टीकरण दिइसकेकाले यस विषयमा पार्टीले छुट्टै बोलिरहनु नपर्ने जिकिर गरेका छन् । झाले यसलाई पुरानो कुरा उछालेर चुनावी मसला बनाउन खोजिएको भन्दै सुनारको बचाउ गरेका छन् ।

विवादको केन्द्रमा रहेका खगेन्द्र सुनारले भने आफूमाथि नियोजित प्रहार भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमा प्रष्टीकरण दिँदै उनले आफूले बोल्दै नबोलेको कुरालाई प्रविधिको दुरुपयोग गरी, सन्दर्भ भन्दा बाहिर लगेर र भिडियोको अगाडि(पछाडिको भाग काटेर भाइरल बनाइएको बताएका छन् । आफू व्यक्तिगत रूपमा शाकाहारी रहेको र कुनै पनि जीव हत्याको पक्षमा नरहेको उल्लेख गर्दै उनले नेपालको राष्ट्रिय जनावरप्रति आफ्नो पूर्ण सम्मान रहेको स्पष्ट पारेका छन् ।

दलित आन्दोलनबाट चर्चामा आएका सुनार आफ्ना उत्तेजक अभिव्यक्तिका कारण पहिलेदेखि नै विवादमा पर्दै आएकाले पनि यस पटकको घटनाले रास्वपा नेतृत्वलाई केही अप्ठ्यारोमा पारेको देखिन्छ।


सम्बन्धित समाचार
भर्खरै