१३ माघ, काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी सरगर्मी बढ्दै जाँदा निर्वाचन आयोगले आचारसंहिता पालनामा निकै कडाइ गरेको छ ।
निर्वाचन आचारसंहिताविपरीत अमर्यादित टिप्पणी गरेको र नियमविपरीत गतिविधि गरेको भन्दै आयोगले झापा क्षेत्र नम्बर ५ का हेभीवेट उम्मेदवार बालेन शाह, सुनसरीका हर्क साम्पाङ र भक्तपुरका महेश बस्नेतसहित पाँचजना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । सामाजिक सञ्जालमा एक–अर्काप्रति गरिएका घृणाजन्य टिप्पणी र चुनावी प्रचारमा बालबालिकाको प्रयोगलाई आयोगले मुख्य आधार बनाएको छ ।
आयोगको आचारसंहिता अनुगमन शाखाका अनुसार झापा ५ का रास्वपा उम्मेदवार बालेन शाहले सोही क्षेत्रका प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत ‘हत्यारा’ भनी टिप्पणी गरेपछि उनीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको हो । त्यसैगरी, भक्तपुर २ का एमाले उम्मेदवार महेश बस्नेतले बालेन शाहलाई लक्षित गरी ‘छाउरा’ जस्ता तुच्छ शब्द प्रयोग गरेको भन्दै आयोगले जवाफ मागेको छ ।
यस्तै, भक्तपुर २ कै अर्की उम्मेदवार जानुका पाठक (शोभा पाठक) लाई पनि प्रतिस्पर्धी उम्मेदवारमाथि हत्यारा र बलात्कारी जस्ता घृणाजन्य शब्द प्रयोग गरेको अभियोगमा स्पष्टीकरण सोधिएको छ । उम्मेदवारहरूका चुनावी गतिविधि पनि आयोगको निशानामा परेका छन् । सुनसरी १ का उम्मेदवार हर्क साम्पाङले चुनावी प्रचारप्रसारका क्रममा बालबालिकालाई टिसर्ट लगाउन दिएर प्रयोग गरेको भेटिएपछि उनलाई सचेत गराइएको छ ।
यता रुपन्देही २ का उम्मेदवार निकोसल भुसाललाई भने जेनजी आन्दोलनको नाममा जुत्ता चुनाव चिन्हको प्रचार गरेको आरोप लागेको छ । उम्मेदवारहरूका अतिरिक्त, अनुमतिविना अधिवेशन गर्ने स्वास्थ्य स्वयंसेवक सङ्घ र शिक्षक सरुवाको विषयमा अर्को एक निकायलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचनको निष्पक्षता जोगाउन आयोगले उम्मेदवारहरूलाई संयमित रहन र अमर्यादित शब्दहरूको प्रयोग नगर्न कडा चेतावनी दिएको छ ।
















