Logo

१३ माघ, काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको कामले गति लिएको छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ भने प्रत्यक्षतर्फको मतपत्र छाप्ने प्रक्रिया पनि सुरु भइसकेको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा कडा सुरक्षा घेराबीच मतपत्र छपाइ भइरहेको र अहिलेसम्म २ करोड ८ लाख ३० हजार थान समानुपातिक मतपत्र तयार भइसकेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभएको छ ।

मतपत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै आयोगले नेपाली सेनाको प्रत्यक्ष सुरक्षा निगरानीमा छपाइ कार्यलाई अघि बढाएको छ । आयोगले फागुन ५ गतेभित्रै देशका सबै निर्वाचन क्षेत्र र मतदान केन्द्रहरूमा मतपत्र पुर्‍याउने लक्ष्य राखेको छ । ढुवानीका क्रममा उच्च सुरक्षा प्रबन्ध मिलाइने र मतदान अधिकृतहरूले कानुनी व्यवस्था अनुसार मतदानको दिन मात्रै सिल गरिएको मतपत्रको प्याकेट खोल्न पाउने गरी कसिलो व्यवस्था मिलाइएको छ। प्रत्यक्षतर्फको मतपत्र आगामी १५ दिनभित्र छापिसक्ने आयोगको योजना छ ।

अहिले प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भई उनीहरू चुनावी मैदानमा होमिइसकेका छन् भने समानुपातिकतर्फको बन्दसूचीमा रहेका उम्मेदवारहरूको अन्तिम नामावली माघ २० गते सार्वजनिक गर्ने कार्यतालिका रहेको छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन प्रक्रिया प्राविधिक रूपमा सुरक्षित रहेको बताउँदै राजनीतिक दल र उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न समेत आग्रह गर्नुभएको छ । आयोगले मतपत्र ढुवानी र वितरणलाई यसपटक थप पारदर्शी र सुरक्षित बनाउने दाबी गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै