१३ माघ, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मीसँगै राजनीतिक दलका शीर्ष नेताहरूबाटै सार्वजनिक भइरहेका अमर्यादित र घृणाजन्य अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ ।
निर्वाचनको माहोल तातिरहेका बेला जिम्मेवार ओहोदामा रहेका व्यक्तिहरूबाटै एक–अर्काप्रति लगाइएका गम्भीर आक्षेप र घृणा फैलाउने खालका भाषणहरूले समाजमा अराजकता निम्त्याउने भन्दै आयोगले मंगलबार एक विज्ञप्तिमार्फत यस्ता गतिविधि तत्काल बन्द गर्न सचेत गराएको हो । पछिल्ला केही दिनयता चुनावी मैदानमा रहेका उम्मेदवारहरूबीच शब्दयुद्ध चर्किएपछि आयोगले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा विचार र अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष भए पनि यसको प्रयोग गर्दा अरूको मर्यादा र सामाजिक सद्भावमा आँच पुर्याउन नहुने प्रष्ट पारिएको छ। नेताहरूका तिखा र अपमानजनक टिप्पणीले निर्वाचनका समयमा सुरक्षा चुनौती थप्नुका साथै लोकतान्त्रिक मूल्यमान्यतालाई नै कमजोर बनाउने आयोगको ठहर छ । विशेषगरी सामाजिक सञ्जालको प्रयोग गरेर एक–अर्कालाई होच्याउने र घृणा फैलाउने प्रवृत्तिले समाजमा विभाजन ल्याउन सक्ने भन्दै आयोगले सबै राजनीतिक दल, उम्मेदवार र समर्थकहरूलाई शिष्ट तथा मानव अधिकारमैत्री भाषा मात्र प्रयोग गर्न आग्रह गरेको छ ।
घृणाजन्य अभिव्यक्तिको प्रचारप्रसारले शान्तिपूर्ण निर्वाचनको वातावरण बिथोल्ने जोखिम देखिएपछि आयोगले नेपाल सरकारलाई समेत शान्ति सुरक्षा थप मजबुत बनाउन निर्देशन दिएको छ । निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै मर्यादित र स्वच्छ प्रतिस्पर्धामा उत्रन आग्रह गर्दै आयोगले घृणायुक्त अभिव्यक्तिको प्रचार नगर्न आम नागरिकलाई समेत सचेत गराएको छ । चुनावी अभियानलाई केवल मत माग्ने माध्यम मात्र नबनाई सामाजिक सद्भाव जोगाउने अवसरका रूपमा लिन आयोगले ध्यानाकर्षण गराएको छ ।
















