१३ माघ, वीरगञ्ज । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा मधेस केन्द्रित दलहरूले पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जित हात पार्दै जिल्लामै वर्चस्व कायम गरेका थिए। समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत प्राप्त गर्दै तत्कालीन संघीय समाजवादी फोरम नेपाल पहिलो दल बनेको थियो।
तर त्यसपछिको २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा मधेस केन्द्रित दलहरूको राजनीतिक हैसियत उल्लेखनीय रूपमा खस्किएको देखियो। प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रमध्ये जनता समाजवादी पार्टी नेपाल (जसपा) ले मात्र एक क्षेत्रमा जित निकाल्दा बाँकी तीन क्षेत्रमा नेपाली कांग्रेसका दुई र नेकपा एमालेका एक उम्मेदवार विजयी भए। समानुपातिकतर्फ पनि जसपा पहिलो स्थानबाट झर्दै तेस्रो स्थानमा सीमित रह्यो भने कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा उक्लिए।
अब फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा पनि पर्सा जिल्लामा मधेस केन्द्रित दलहरूको अवस्था सुखद नदेखिने आकलन सुरु भएको छ। दल विभाजन र नेताहरूको व्यापक पार्टी परिवर्तन यसको मुख्य कारणका रूपमा देखिएको छ।
मधेस आन्दोलनदेखि नै पर्सा जिल्लामा मधेसी दलको नेतृत्व गर्दै आएका पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवले मनोनयन दर्ता हुनुभन्दा एक दिनअघि मात्र जसपा नेपाल परित्याग गरी पर्सा क्षेत्र नम्बर १ बाट नेकपा एमालेको उम्मेदवारका रूपमा उम्मेदवारी दिएका छन्। उपेन्द्र यादव नेतृत्वको दलबाट पर्सा–१ मा लगातार दुई पटक निर्वाचित प्रदीपलाई यसपटक टिकट नदिने अवस्था आएपछि उनी माघ ५ गते एमालेमा प्रवेश गरेका थिए। एमाले प्रवेश गरेलगत्तै अध्यक्ष केपी शर्मा ओलीले उनलाई सोही क्षेत्रको उम्मेदवार बनाएका हुन्।
प्रदीप यादवसँगै जसपा नेपालबाट वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र सात जना वडाध्यक्षसमेत एमाले प्रवेश गरेका छन्। एमाले उम्मेदवार यादवले उपेन्द्र यादवले आफूसँग धोखा गर्दै आफ्नो राजनीतिक जीवन समाप्त पार्ने षड्यन्त्र गर्न लागेको संकेत पाएपछि पार्टी परिवर्तन गर्न बाध्य भएको बताएका छन्। संविधान, लोकतन्त्र र राष्ट्रवाद जोगाउने दल एमाले भएको र केपी ओलीमा राष्ट्रप्रेमको चट्टानी अडान देखेकाले एमाले रोजेको उनको दाबी छ।
प्रदीप यादव एमाले प्रवेश गरेपछि जसपा नेपालले पर्सा–१ मा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवलाई उम्मेदवार बनाएको छ। पर्सा–२ मा भने जसपा नेपालले नयाँ अनुहारका रूपमा उद्योगपति अशोक टेमानीलाई उम्मेदवार बनाएको छ। तर सोही क्षेत्रमा यसअघि जसपाबाट वडाध्यक्ष निर्वाचित तथा प्रदीप यादवका निकट मानिने सुशीलकुमार कानु पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बनेपछि मत विभाजनको सम्भावना बढेको छ।
पर्सा–३ मा जसपा नेपालले पार्टीका पूर्व जिल्ला उपाध्यक्ष नागेन्द्र यादवलाई उम्मेदवार बनाएको छ। नयाँ अनुहार भए पनि यस क्षेत्रमा उनको प्रभाव उल्लेखनीय नरहेको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।
पर्सा–४ मा जसपा नेपालले केही हप्ताअघि मात्रै कांग्रेस छाडेर पार्टी प्रवेश गरेका डा. कृपासिन्धु चौधरीलाई उम्मेदवार बनाएको छ। यस क्षेत्रबाट २०७४ मा निर्वाचित सांसद तथा हालै जसपासँग एकता गरेको लोसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्ण पनि आकांक्षी रहे तापनि पार्टीले नवप्रवेशी चौधरीलाई टिकट दिएको हो।
यता उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनपछि बनेको अशोक राई नेतृत्वको जसपा, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र रेशम चौधरी नेतृत्वको राष्ट्रिय उन्मुक्ति पार्टीबीच गठबन्धन बनेको छ। उक्त गठबन्धनले पर्सा–२ मा फिरोज मियाँ र पर्सा–३ मा मनोज पण्डित कुम्हाललाई उम्मेदवार बनाएको छ। बाँकी दुई निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार नरहेको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता निजामुद्दिन समानीले जानकारी दिए।
दल विभाजन, नेतृत्व पलायन र उम्मेदवारको बहुलताले यसपटक पर्सा जिल्लामा मधेस केन्द्रित दलहरूको राजनीतिक प्रभाव थप कमजोर बन्ने संकेत देखिएको छ।
















