१३ माघ, वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल मुस्लिम संघ पर्साले चुनावी भेला सम्पन्न गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुंग्टालाई विजयी गराउने उद्देश्यले भेला आयोजना गरिएको हो।
भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका जिल्ला सचिव इम्तियाज आलमले पर्सा–१ मा कांग्रेस उम्मेदवार रुंग्टालाई जिताउन सम्पूर्ण मुस्लिम समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो। रुंग्टाको जित क्षेत्र नम्बर–१ का बासिन्दाको जित हुने उल्लेख गर्दै उहाँले क्षेत्रको समग्र विकासका लागि उम्मेदवार प्रतिबद्ध रहेको विश्वास व्यक्त गर्नुभयो।
नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले प्रतिनिधिसभा निर्वाचनमा मुस्लिम समुदायको भूमिका निर्णायक हुने बताउँदै रुंग्टाको विजयले क्षेत्र नम्बर–१ का नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने धारणा राख्नुभयो।
उम्मेदवार अनिल कुमार रुंग्टाले आफू निर्वाचित भए क्षेत्रको विकास, जनसमस्याको समाधान तथा नागरिक अधिकारका विषयमा संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले यस क्षेत्रका समस्यालाई आफ्नै समस्या ठानी सम्बन्धित निकायमा पहल गर्ने र आवश्यक परे जनतासँग काँधमा काँध मिलाएर अघि बढ्ने बताउनुभयो।
भेलामा सहभागी जनसमुदायले एक स्वरमा उम्मेदवार रुंग्टाको समर्थनमा नारा लगाएका थिए।
भेलामा नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार अनिल कुमार रुंग्टा, उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव इम्तियाज आलम, क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति महमद सहाबुद्दिनसहित मुस्लिम समुदायका अगुवा कार्यकर्ता तथा स्थानीय बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम नेपाल मुस्लिम संघ पर्साका जिल्ला अध्यक्ष हबिब मियाको अध्यक्षतामा सम्पन्न भएको हो।
















