१३ माघ, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका प्रतिनिधि सभा उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ स्थित चोर्नी टोलमा घरदैलो, भेटघाट तथा संवाद कार्यक्रममार्फत जनसमर्थन विस्तार गरेका छन्।
कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले औद्योगिक नगरी वीरगञ्जमै युवाहरू बेरोजगार भई विदेश पलायन हुन बाध्य हुनु दुःखद र विडम्बनापूर्ण अवस्था भएको बताउँदै वर्तमान नेतृत्वको कडा आलोचना गरे। “कारखाना छन्, स्रोत छन्, तर रोजगारी छैन—यो व्यवस्था र नेतृत्वको असफलता हो,” उनले बताए।
सरार्फले आफू निर्वाचित भए पर्सा–१ का युवालाई रोजगारी र स्वरोजगारसँग जोड्ने ठोस योजना कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार सीपमूलक तालिम प्रदान गरिने, स्थानीय उद्योगसँग रोजगारीको ग्यारेन्टी गरिने, उद्यमशीलता प्रवर्द्धन गरिने तथा युवामैत्री नीति लागू गरिनेछ।
“अब पर्साको युवा रोजगारीको खोजीमा विदेश जानुपर्ने छैन, आफ्नै माटोमा भविष्य निर्माण गर्नेछ,” उनले दाबी गरे।
निकास र विकासका लागि जनमत पार्टी र ‘हर्न’ चुनाव चिन्हबाहेक अन्य कुनै विकल्प नरहेको उल्लेख गर्दै उनले परिवर्तन चाहने सबै मतदातालाई जनमत पार्टीमा गोलबन्द हुन आह्वान गरे।
कार्यक्रममा जनमत पार्टीका नेताहरू विध्यालाल प्रसाद, रम्भा मिश्रा, भुपेन्द्र साह, सिए देवराज, डा. मनोज कुमार, दिनानाथ साह, सहनवाज राकी, सत्ययुग साह, नरेश राम, सिकेश महतो, निराजन कुशवाहा, शिव यादव लगायतको उपस्थिति रहेको थियो।
स्थानीय युवाहरू दिलिप पासवान, दिनेश हजरा, सरोज पटेलसहित सयौं स्थानीयको सहभागिताले कार्यक्रम उत्साहपूर्ण बनेको थियो।
















