१३ माघ, काठमाडौं । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती गरेको आरोपमा प्रहरीले युवराज सफललाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सफलले महान्यायाधिवक्ताको कार्यालय तथा महान्यायाधिवक्ताबारे विभिन्न मिडिया र सामाजिक सञ्जालमा नकारात्मक, अपशब्द, गालीगलौज र बेइज्जतीपूर्ण सामग्री प्रसारण गरेका थिए। साथै, विभिन्न मुद्दामा रकम लेनदेन गरी मुद्दा फिर्ता लिने गरिएको भनी झूटा आरोपसहित भिडियो निर्माण र अन्तर्वार्ता दिएको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार महान्यायाधिवक्ताको कार्यालयबाट प्रमाणसहित पत्राचार प्राप्त भएपछि अनुसन्धान गर्दा सफलले तथ्यहीन र झूटा आरोप लगाएको पुष्टि भएको हो।
उनीमाथि थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

















