१३ माघ, वीरगञ्ज । २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–४मा राजनीतिक गतिविधि तीव्र रुपमा बढेको छ। उम्मेदवारहरू कार्यकर्ता र मतदाता भेटघाट, घरदैलो तथा संवाद कार्यक्रममा व्यस्त छन्। शहरी मतदाता, उद्योगी–व्यवसायी, मजदुर र मध्यम वर्गको बाक्लो उपस्थिति भएको यो क्षेत्र चुनावी दृष्टिले सधैं प्रतिस्पर्धात्मक रहँदै आएको छ।
पर्सा–४ मा करिब ९५ हजार मतदाता रहेको बताइन्छ। विगतमा यो क्षेत्रमा वामपन्थी र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा भएको थियो। तर यसपटक बहुपक्षीय प्रतिस्पर्धाको संकेत देखिएको छ। पुराना अनुभव भएका नेतासँगै नयाँ पुस्ताका उम्मेदवार मैदानमा आएका छन्, जसले निर्वाचनलाई अझ रोचक बनाएको छ।
नेपाली कांग्रेसको चुनौती र रणनीति
नेपाली कांग्रेसले यसपटक अनुभवी नेता रमेश रिजाललाई उम्मेदवार बनाएको छ। रिजाल २०४८ सालदेखि राजनीति गर्दै आएका छन् र २०७९ को निर्वाचनमा नेकपा एमालेका जालिम मियाँ मन्सुरीलाई पराजित गरेर निर्वाचित भएका थिए। उनी पर्सा–४ को शहरी क्षेत्र, व्यापारी वर्ग र मध्यमवर्गीय मतदातामा कांग्रेसको प्रभाव कायम राख्न मुख्य आधारका रूपमा भर परेका छन्।
रिजालको राजनीतिक यात्रा लामो छ। जगरनाथपुर गाउँपालिका–५ र धर्मपुर मसिहानीका उनी १४ वर्षको उमेरमा एसएलसी गरेका थिए र वाणिज्यशास्त्रमा स्नातक भए। विद्यार्थी जीवनमै नेविसंघमा सक्रिय बनेका रिजालले २०२६–२०४६ को अवधिमा ३ वर्ष जेल जीवन बिताएका थिए। २०५९ सालमा प्रजातान्त्रिक कांग्रेस गठन हुँदा शेरबहादुर देउवालाई साथ दिएका रिजालले २०७९ मा उद्योग मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए।
यद्यपि, पार्टी भित्रको आन्तरिक असन्तुष्टि, गुटगत राजनीति र युवा मतदातामा परिवर्तनको चाहनाले कांग्रेसका लागि चुनौती पनि थपेको छ।
एमालेको सक्रियता र संगठनात्मक बल
नेकपा एमालेले पर्सा–४ मा संगठनात्मक बल र अनुशासित कार्यकर्तामाथि निर्भर गर्दै चुनावी मैदानमा उत्रिएको छ। वर्तमान उम्मेदवार जालिम मियाँ मन्सुरी लामो समयदेखि पार्टीसँग जोडिएका नेता हुन्। उनी शहरी क्षेत्रसँगै मजदुर र निम्न आयवर्गमा एमालेको प्रभाव कायम राख्न सक्षम देखिन्छन्।
७८ वर्षका मन्सुरी राजनीतिमा लामो अनुभव भएका नेता हुन्। उनी २०७४ मा माओवादी केन्द्रबाट जगरनाथपुर गाउँपालिकाको अध्यक्ष बनेका थिए र २०७८ मा एमाले प्रवेश गरी २०७९ मा कांग्रेसका रिजालसँग पराजित भएका थिए। उनको संगठनात्मक सक्रियता कांग्रेसका लागि चुनौती हुनसक्ने बताइन्छ।
नेकपा र रास्वपाका उम्मेदवारको प्रभाव
यसैबीच, नेकपा (माओवादी केन्द्र) का जयप्रकाश थारू र रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) का टेकबहादुर शाक्यले यस क्षेत्रको चुनावी समीकरणमा नयाँ आयाम थपेका छन्।
जिराभवानी गाउँपालिका निवासी ६५ वर्षीय जयप्रकाश पर्सामा राजनीतिमा नयाँ अनुहार होइनन्। उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेबाट पर्सा–५ बाट पहिलो पटक चुनावी मैदानमा आएका थिए। दोस्रो संविधानसभामा विजयी भएका उनले २०७४ र २०७९ मा प्रदेशसभा सदस्यताका लागि पराजित भए पनि स्थानीय राजनीतिमा स्थापित नेता मानिन्छन्।
टेकबहादुर शाक्य तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्। हाल रास्वपा प्रवेश गरेका उनले सुशासन, प्रतिबद्धता र पुराना दलप्रतिको असन्तुष्टिलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै युवा र शिक्षित मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन्।
जनता समाजवादी पार्टी (जसपा) र नयाँ मत संरचना
जसपा नेपालका उम्मेदवार कृपासिन्धु चौधरीको उम्मेदवारीले कांग्रेसको मत संरचनामा केही असर पर्ने अनुमान गरिएको छ। चौधरी पूर्वमा कांग्रेसबाट राजनीति सुरु गरेका हुन् र हाल नयाँ पार्टीबाट मैदानमा उत्रिएका छन्। उनी बुद्धिमानी र बौद्धिक छविका नेता मानिन्छन्।
चौधरीको उम्मेदवारी केवल जसपाको पक्षमा मात्रै होइन, कांग्रेसभित्र लामो समयदेखि दबिएका असन्तुष्टिको बाह्य प्रतिनिधित्व पनि हो। तर संगठनात्मक कमजोरी र स्थानीय स्तरमा बलियो अनुहारको अभावले उनलाई सहज प्रतिस्पर्धा गर्न कठिनाइ देखिन्छ।
अन्य पार्टी र प्रतिस्पर्धी
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले विष्णु लोप्चनलाई उम्मेदवार बनाएको छ। लोप्चन २०७९ मा जनता समाजवादी पार्टी नेपालबाट स्थानीय तहको चुनावमा अध्यक्ष पदमा उम्मेदवार थिए र केही प्रभाव प्रदर्शन गरेका थिए।
निर्णायक समीकरण
यसरी पर्सा–४मा पुराना अनुभव भएका नेता र नयाँ अनुहारबीच प्रतिस्पर्धा रहेको छ। कांग्रेस, एमाले, जसपा, रास्वपा र श्रम संस्कृति पार्टीका उम्मेदवारहरूले विभिन्न वर्ग र समुदायमा आफ्नो प्रभाव विस्तार गर्न सक्रिय छन्। मतदाता बीच बढ्दो बहुपक्षीय आकर्षणले यस क्षेत्रको चुनावी भिडन्त अझ रोमाञ्चक बनाएको छ।
समीक्षकहरू भन्छन्, “यदि चुनाव केवल कांग्रेस–एमालेबीच सीमित रह्यो भने मन्सुरीको संगठनात्मक बलले रिजाललाई चुनौती दिनेछ। तर नयाँ पार्टी र उम्मेदवारले मत संरचनामा असर गर्ने भएपछि परिणाम अनिश्चित बनेको छ।”
पर्सा–४को चुनावी मैदानमा पुराना अनुभव, संगठनात्मक बल, नयाँ आकांक्षा र मतदाताको बदलिँदो प्राथमिकताले आगामी प्रतिनिधिसभा निर्वाचनलाई अत्यन्तै रोचक बनाउने निश्चित देखिन्छ।
















