१४ माघ, काठमाडौँ । नेपालमा आज विभिन्न चेतनामूलक कार्यक्रमहरूको आयोजना गरी ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ मनाइँदैछ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै यो दिवस मनाउन लागिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार आज आयोजना गरिने विशेष समारोहमा अर्थमन्त्री रामेश्वर खनालको प्रमुख आतिथ्यता रहनेछ। विभागका महानिर्देशक गजेन्द्र ठाकुरले अवैध रूपमा आर्जित धनलाई वैध बनाउने प्रक्रिया (सम्पत्ति शुद्धीकरण) लाई निरुत्साहित गर्न र यसबारे जनचेतना जगाउन यो दिवसको विशेष महत्त्व रहेको बताए ।
मन्त्रिपरिषद्को २०८१ पुस १६ गतेको निर्णयअनुसार हरेक वर्ष माघ १४ गतेलाई ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’का रूपमा मनाउन सुरु गरिएको हो। सोही निर्णयका आधारमा विभागले यस वर्ष पनि राष्ट्रव्यापी रूपमा विभिन्न कार्यक्रमहरू तय गरेको छ।
सम्पत्ति शुद्धीकरण निवारणका क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्दै आएको छ। यो दिवसले वित्तीय सुशासन कायम गर्न, आपराधिक क्रियाकलापबाट आर्जित सम्पत्तिको स्रोत लुकाउने प्रवृत्तिलाई नियन्त्रण गर्न र मुलुकको अर्थतन्त्रलाई पारदर्शी बनाउन सरोकारवाला निकायहरूबीचको समन्वयलाई थप बलियो बनाउने विश्वास लिइएको छ। दिवसका अवसरमा विभागले सञ्चारमाध्यम र सडक सचेतनाका माध्यमबाट पनि मनी लाउण्डरिङ विरुद्धको सन्देश प्रवाह गरिरहेको छ।
















