१४ माघ, वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ रहरियाडीमा आज (बुधबार) बिहान एकै परिवारका दुई जनाको निर्मम हत्या भएको छ । अज्ञात समूहले घरमै पसेर धारिलो हतियार प्रहार गर्दा आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो भने परिवारका अन्य दुई सदस्य गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डल रहेका छन् । अज्ञात समूहले आज बिहान करिब ३ बजेको समयमा उनीहरूमाथि धारिलो हतियारले टाउकोमा प्रहार गरेको थियो । घटनामा मृतक रामेश्वरका ५२ वर्षीय बुवा जगरूप मण्डल र २२ वर्षीया बहिनी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन् । उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले मृतक रामेश्वरकी २५ वर्षीया श्रीमती (बुहारी) मनिता देवी मण्डललाई नियन्त्रणमा लिएको छ । बाराका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले घटनाको प्रारम्भिक अनुसन्धानका लागि मनितालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जानकारी दिए । “घरका अन्य सदस्यमाथि घातक प्रहार हुँदा बुहारी भने सुरक्षित देखिएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ,” प्रहरी स्रोतले भन्यो ।
गाउँमा एकै परिवारका सदस्यको विभत्स हत्या भएपछि रहरियाडी क्षेत्र शोक र त्रासमा डुबेको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार प्राविधिक टोली र तालिमप्राप्त कुकुरको समेत सहयोगमा घटनाको अनुसन्धान भईरहेको छ ।
“हत्या कसले र कुन उद्देश्यले गरेको हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ,” एसपी कुँवरले भने, “हामीले विभिन्न कोणबाट प्रमाणहरू सङ्कलन गरिरहेका छौँ, दोषी चाँडै कानुनी दायरामा आउनेछन्।” घटनास्थललाई प्रहरीले सिल गरी सुरक्षा सतर्कता बढाएको छ ।
















