१४ माघ, काठमाडौँ । भारतको महाराष्ट्रस्थित बारामती विमानस्थलमा बुधबार बिहान भएको भयावह विमान दुर्घटनामा परी महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ ।
जिल्ला परिषद् निर्वाचनको सिलसिलामा मुम्बईबाट बारामतीका लागि उडेको निजी चार्टर्ड विमान अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो । नागरिक उड्डयन महानिर्देशनालयका अनुसार अवतरणका क्रममा विमानमा प्राविधिक समस्या देखिएपछि ‘क्र्यास ल्यान्डिङ’ भएको र भुइँमा पछारिनेबित्तिकै विमानमा भीषण आगलागी भएको थियो ।
प्रत्यक्षदर्शी र सार्वजनिक भएका दृश्यहरूका अनुसार आगलागीका कारण विमान पूर्ण रूपमा जलेर टुक्रा–टुक्रा भएको छ भने दुर्घटनास्थलबाट बाक्लो धुवाँको मुस्लो उडिरहेको देखिएको छ । विमानमा उपमुख्यमन्त्री पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी र चालक दलका सदस्य गरी अन्य चार जना सवार थिए। डीजीसीएले विमानमा रहेका कोही पनि जीवित फेला पर्ने सम्भावना नरहेको पुष्टि गर्दै दुर्घटनालाई निकै घातक बताएको छ । उद्धार टोलीले दुर्घटनास्थलबाट शवहरू संकलन गरी पहिचानका लागि अस्पताल पठाएको छ ।
स्थानीय प्रशासनका अनुसार विमानमा सवार सबैजना गम्भीर घाइते भएको प्रारम्भिक सूचना आए पनि पछि बीबीसी लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उपमुख्यमन्त्री पवारको मृत्यु भएको जानकारी दिएका छन् । विमान दुर्घटनाको मुख्य कारण प्राविधिक खराबी हो वा रनवेको खराब अवस्था, त्यसबारे अनुसन्धान सुरु गरिएको छ । दुर्घटनापछि बारामती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने भारतीय राजनीतिमा यस घटनाले ठूलो शोक र सन्नाटा छाएको छ ।
















