१४ माघ, काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गरी आफ्नो सांगठनिक तयारीलाई तीव्र पारेको छ ।
पार्टीका उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले बुधबार एक विशेष परिपत्र जारी गर्दै फागुन २१ गते हुने निर्वाचनलाई व्यवस्थित र परिणाममुखी बनाउन मातहतका सबै निकायलाई कम्तीमा १२ वटा विभिन्न समिति गठन गर्न निर्देशन दिनुभएको छ ।
जारी परिपत्र अनुसार प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिहरूले आफ्नो क्षेत्रमा निर्वाचन व्यवस्थापन सचिवालयदेखि अनुगमन समितिसम्मका संरचनाहरू अविलम्ब निर्माण गर्नुपर्नेछ । कांग्रेसले विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै १८/३० विशेष अभियान सहित बौद्धिक क्षेत्र, निजी क्षेत्र, सामाजिक तथा धार्मिक संघ-संस्था र पूर्वआप्रवासीहरूलाई समेत समेट्ने गरी छुट्टाछुट्टै समन्वय समिति बनाउन जोड दिएको छ ।
निर्वाचन परिचालन र प्रचार–प्रसारलाई तल्लो तहसम्म प्रभावकारी बनाउन यी समितिहरू अन्तर्गत आवश्यकता अनुसार उपसमितिहरू समेत गठन गर्न सकिने पार्टीले जनाएको छ । विजय अभियानलाई व्यवस्थित बनाउने रणनीति अनुरूप जहाँ समितिहरू गठन भइसकेका छैनन्, त्यहाँ तत्काल यो प्रक्रिया पूरा गर्न निर्देशन दिइएको हो ।
















