Logo

१४ माघ, वीरगञ्ज ।  जेनजी युवा राहुल गुप्ताको नेतृत्वमा नारायणी अस्पतालमा नवजात शिशु तथा सुत्केरी आमालाई आवश्यक कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य तथा सुविधामा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा १ सय ३५ जना नवजात शिशु र उनीहरूका आमालाई कपडा प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष तथा पर्सा क्षेत्र नं.–२ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशोक कुमार टेमानी रहनु भएको थियो। कार्यक्रममा सामाजिक अभियन्ता, युवा स्वयंसेवक तथा अस्पताल प्रशासनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि टेमानीले यस्ता मानवीय तथा सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले नवजात शिशु र आमाको स्वास्थ्य सुरक्षामा सानो सहयोगले पनि ठूलो प्रभाव पार्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले आमाहरूको मनोबल बढाउनुका साथै समाजमा आपसी सहयोग, सद्भाव र मानवताको भावना मजबुत बनाउने बताउनुभयो। युवाहरूले अग्रसरता देखाउँदै यस्ता कार्य गर्नु अत्यन्त सराहनीय भएको उहाँको भनाइ थियो।

उहाँले सामाजिक उत्तरदायित्व केवल संस्थागत दायित्व मात्र नभई हरेक सचेत नागरिकको कर्तव्य भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता पहललाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रमका संयोजक राहुल गुप्ताले समुदायको आवश्यकता पहिचान गरी कार्यक्रम आयोजना गरिएको जानकारी गराउँदै आगामी दिनमा स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले यस पहलले नवजात शिशु र सुत्केरी आमाको स्वास्थ्य सुरक्षामा सहयोग पुर्‍याउनुका साथै सामाजिक सद्भाव र मानवताको महत्व उजागर गरेको प्रतिक्रिया दिएका छन्।


सम्बन्धित समाचार