Logo

१४ माघ, काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने पाँच वाणिज्य बैंकहरूमध्ये नाफा कमाउने प्रतिस्पर्धामा मिश्रित नतिजा देखिएको छ ।

बुधबार सार्वजनिक विवरण अनुसार नेपाल बैंक र एभरेष्ट बैंकको खुद नाफामा सुधार देखिएको छ भने प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा र सिटिजन्स बैंकको नाफामा उल्लेख्य गिरावट आएको छ । खासगरी खराब कर्जा व्यवस्थापनका लागि गरिने इम्पेरमेन्ट चार्जमा आएको फेरबदल र घट्दो खुद ब्याज आम्दानीका कारण बैंकहरूको नाफा प्रभावित भएको देखिन्छ ।

यस अवधिमा सबैभन्दा लोभलाग्दो सुधार नेपाल बैंकले गरेको छ, जसको खुद नाफा १८३ दशमलव ०४ प्रतिशतले बढेर १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा इम्पेरमेन्ट चार्जमा ठूलो गिरावट आउनु यसको नाफा वृद्धिको मुख्य कारण हो । त्यस्तै, एभरेष्ट बैंकले पनि २ दशमलव ०४ प्रतिशतको सामान्य वृद्धिसहित २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गर्दै आफ्नो बलियो उपस्थिति कायम राखेको छ । एभरेष्टको वितरणयोग्य मुनाफा ३ अर्ब ३४ करोडभन्दा माथि रहनुले लगानीकर्ताका लागि सुखद संकेत दिएको छ ।

यसको विपरित, अन्य तीन बैंकको अवस्था भने केही चुनौतीपूर्ण देखिएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४३.०५ प्रतिशतले खुम्चिएर १ अर्ब ६१ करोडमा झरेको छ भने प्रभु बैंकको नाफा पनि २४.०८ प्रतिशतले घटेर १ अर्ब १ करोड रुपैयाँ सीमित भएको छ । सबैभन्दा बढी गिरावट सिटिजन्स बैंकमा देखिएको छ, जसको नाफा ४५ दशमलव ७८ प्रतिशतले घटेर मात्र ३५ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

चिन्ताको विषय के छ भने, एभरेष्ट बाहेकका अन्य चारवटै बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक देखिएको छ, जसले बैंकहरूको आगामी लाभांश वितरण क्षमतामा प्रत्यक्ष असर पार्ने देखिन्छ ।


सम्बन्धित समाचार