१४ माघ, वीरगञ्ज । बारा जिल्लाको प्रसौनी गाउँपालिकामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण तथा चुनावी तयारीलाई तीव्र बनाएको छ। सोही क्रममा बारा निर्वाचन क्षेत्र नं.–४ अन्तर्गत प्रसौनी गाउँपालिका–६ भलुहीमा अगुवा कार्यकर्ता बैठक सम्पन्न भएको छ।
बैठकमा नेकपा बारा क्षेत्र–४ का प्रतिनिधिसभा उम्मेदवार अजय कुमार कुशवाहाले आगामी निर्वाचनमा आफू परिवर्तनको संवाहकका रूपमा जनताको बीचमा जाने स्पष्ट पारे। प्रसौनी गाउँपालिका वडा नं.–६ का स्थायी बासिन्दा तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीसमेत रहेका कुशवाहाले नयाँ पुस्ता (जेन–जेड) को प्रतिनिधित्व गर्दै युवामैत्री, पारदर्शी र उत्तरदायी राजनीति अघि बढाउने प्रतिबद्धता जनाए।
उनले शिक्षा, रोजगारी, स्वास्थ्य, खेलकुद तथा स्थानीय विकासलाई प्राथमिकतामा राखेर जनताका मुद्दा संसदसम्म पुर्याउने बताए। विगतका निर्वाचनमा जनताले भोग्नुपरेका निराशा र समस्या दोहोरिन नदिन नेकपा जनताको भरोसायोग्य विकल्प बनेर अघि बढ्ने दाबी गर्दै उनले पार्टी कार्यकर्तालाई घर–घरमा पुगेर संगठन विस्तार गर्न र जनताको समस्या सुन्न विशेष जोड दिए।
बैठकमा विभिन्न स्थानीय तहका प्रतिनिधिहरूले आ–आफ्नो पालिकाको समसामयिक अवस्था, विकासका अवरोध, रोजगारीको अभाव, युवा पलायन, कृषि, शिक्षा तथा आधारभूत सेवासँग सम्बन्धित समस्याहरू उठाएका थिए। परवानीपुर गाउँपालिकाका लालबहादुर पटेल, प्रसौनी गाउँपालिकाका विजय यादव र लक्ष्मी महतो, विश्रामपुर गाउँपालिकाका लवकुश बैठा तथा जितपुर–सिमरा उपमहानगरपालिकाका प्रेम बरालले स्थानीय आवश्यकताअनुसार नीति तथा कार्यक्रम तय गर्नुपर्ने सुझाव दिएका थिए।
यस अवसरमा नेकपा केन्द्रीय सदस्य क्षेत्र बहादुर श्रेष्ठको नेतृत्वमा बारा क्षेत्र–४ का लागि ५०० सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको घोषणा गरिएको छ। समितिले आगामी दिनमा चुनावी रणनीति निर्माण, जनपरिचालन, प्रचार–प्रसार तथा संगठन विस्तारको जिम्मेवारी सम्हाल्ने जनाइएको छ।
कार्यक्रममा संविधानसभा सदस्य दिलमाया धामी, नेता दिनेश राई, क्षेत्र बहादुर श्रेष्ठ, शिला खनाल, मालती कुशवाहा, सर्मिला राई, भरत खड्का, रामचन्द्र प्यासी, हरि प्रसाद चौलागाईं, कमला अधिकारी, मुकेश साहलगायत पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बैठककै अवसरमा आर्थिक समिति, जनपरिचालन समिति, प्रचार–प्रसार समिति लगायत विभिन्न उपसमितिहरू पनि गठन गरिएको थियो।
नेकपाले बारा क्षेत्र–४ मा युवाको सहभागिता बढाउँदै संगठनलाई जनमुखी बनाउने र आगामी निर्वाचनमा सशक्त प्रतिस्पर्धा गर्ने रणनीतिका साथ अभियानलाई अघि बढाएको जनाएको छ।
















