१४ माघ, काठमाडौँ । आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली क्षेत्रको भौगोलिक र मौसमी प्रतिकूलतालाई मध्यनजर गर्दै गृह मन्त्रालयले मतदानस्थल सार्नेबारे प्रारम्भिक अध्ययन सुरु गरेको छ ।
फागुन महिनामा पनि उच्च हिमाली भेगमा अत्यधिक हिउँ र जाडो हुने भएकाले त्यस क्षेत्रका अधिकांश मतदाताहरू अहिले बेंसी तल्लो क्षेत्र तिरै बसोबास गरिरहेका छन् । मतदाताहरू माथिल्लो भेगमा नहुँदा मतदान प्रक्रिया नै प्रभावित हुन सक्ने देखिएपछि सरकारले यस्तो गृहकार्य थालेको हो ।
गृह मन्त्रालयका अनुसार सुरक्षा निकायहरूसँगको समन्वयमा ती दुर्गम र उच्च हिमाली स्थानका मतदानस्थलहरूलाई अस्थायी रूपमा मतदाताको सहज पहुँच भएको तल्लो क्षेत्रमा सार्न सकिने सम्भाव्यताबारे छलफल भइरहेको छ । २१ फागुनमा पनि हिउँ नजम्ने ग्यारेन्टी नभएको र सुरक्षाकर्मीहरू समेत अहिले तल्लो क्षेत्रमै तैनाथ रहेकाले सुरक्षा व्यवस्थापन र निर्वाचन सञ्चालनका लागि मतदानस्थल सार्नु व्यावहारिक देखिएको छ,’ मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।
यसअघि पनि हिमाली जिल्लाहरूमा जाडोयाममा हुने निर्वाचनमा यस्तै समस्या देखिने गरेको थियो। यसपटक जेनजी मतदाताहरूको उत्साहजनक सहभागिता हुने अपेक्षा गरिएको निर्वाचनमा कसैलाई पनि भूगोल र मौसमका कारण मताधिकारबाट वञ्चित हुन नदिन गृहले अध्ययनलाई तीव्रता दिएको हो ।
सुरक्षा संवेदनशीलता र भौगोलिक विकटताका आधारमा अन्तिम निर्णय लिनका लागि विभिन्न जिल्लाका सुरक्षा समितिसँग प्रतिवेदन माग गरिएको बुझिएको छ ।
















