Logo

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा कुमार इङ्नाम ललितपुरमा बुधबार आयोजित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिकोत्सव कार्यक्रममा मन्तव्य राख्नुहुँदै तस्बिरः माधवप्रसाद घिमिरे/रासस

१४ माघ, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङ्नामले कानुनको उल्लंघन गरी सहकारी डुबाउने र बचतकर्ताको बिचल्ली बनाउने तत्वहरूमाथि कडा कारबाही हुने चेतावनी दिनुभएको छ ।

बुधबार ललितपुरमा आयोजित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री इङ्नामले स्वनियमनको नाममा गैरकानुनी काम गर्ने केही सहकारीका कारण समग्र क्षेत्र नै बद्नाम भएको बताउनुभयो । नियमनकारी निकायको विगतको उदासिनता र स्वनियमनको अभावले अहिलेको संकट निम्तिएको उहाँको ठम्याइ छ ।

मन्त्री इङ्नामले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सुस्त कार्यशैलीप्रति तीव्र असन्तुष्टि समेत व्यक्त गर्नुभयो । हालको कछुवा गतिको कामले पीडितले न्याय पाउन सयौँ वर्ष लाग्न सक्ने भन्दै उहाँले तत्काल हजारौँको संख्यामा यस्ता समितिहरू गठन गरेर भए पनि समस्याको छिटो छिनोफानो गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री इङ्नामका अनुसार, सरकारले बचतकर्ता र ऋणी दुवैलाई मारमा पार्ने विरुद्ध निर्मम भएर कदम चाल्ने तयारी गरिरहेको छ ।

गत वर्ष माघ १४ गते स्थापना भएको प्राधिकरणले हालसम्म ५ हजार ३ सय ५० सहकारीलाई दर्ता अभिलेखीकरण प्रक्रियामा ल्याएको जानकारी दिएको छ । प्राधिकरणले प्राप्त उजुरीहरूको अध्ययन र छानबिन तीव्र पारिएको दाबी गरे पनि मन्त्रीले भने फिल्डमा परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ ।


सम्बन्धित समाचार