१४ माघ, वीरगञ्ज । बारामा एकै परिवारका आमा र छोराको हत्या प्रकरणमा बुहारीसहित एक जना युवक पक्राउ परेका छन्।
बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। घटना आज बिहानीपखको राति भएको बताइएको छ।
आक्रमणमा परी सुमित्रा देवीका ५० वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएका छन्। घाइते दुवैको परवानीपुरस्थित एलएसआर न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आरोपमा मृतककै बुहारी र अर्का एक युवकलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेका युवक २६ जनवरी (१२ माघ) मा मात्र दुबईबाट नेपाल फर्किएको खुलेको छ। उनी दुबईको सारजाह विमानस्थलबाट काठमाडौं ओर्लिएपछि सिधै बारा पुगेको एक अनुसन्धान अधिकृतले जानकारी दिए।
प्रहरीका अनुसार बुहारी र ती युवकबीच वैवाहिकेतर सम्बन्ध रहेको आशंका गरिएको छ। उक्त सम्बन्धबारे परिवारमा थाहा पाएपछि विवाद बढ्दै गएको र सोही कारण योजनाबद्ध रूपमा आमा–छोराको हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिएका छन्।
यो पनि पढनुस्:-
बारामा आमाछोराको विभत्स हत्या : बुवा र बहिनी गम्भीर घाइते, बुहारी नियन्त्र
बाराको परवानीपुरमा धारिलो हतियार प्रहार गरी आमा–छोराको हत्या : दुईजना पक्राउ
















