१४ माघ, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोकुमार टेमानीले सुशासन र दिगो समृद्धिको लक्ष्यसहित आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।
आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा आयोजित चुनावी भेटघाटका क्रममा उनले पर्सा–२ का मतदाताले स्वच्छ छवि र इमानदार नेतृत्वको खोजी गरिरहेको दाबी गर्दै उक्त आवश्यकता आफूले पूरा गर्न सक्ने बताएका हुन्।
टेमानीले हालसम्म यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरूले विकास र समृद्धिको अपेक्षित काम गर्न नसकेको आरोप लगाए। भ्रष्टाचारविरुद्धको अभियान तीव्र बन्दै गएको सन्दर्भ उल्लेख गर्दै उनले मतदाताले बेदाग छविको जनप्रतिनिधि चाहेको र आफू स्वच्छ छविका कारण जनताको रोजाइमा पर्ने विश्वास व्यक्त गरे।
विगत चार दशकदेखि व्यवस्थापन क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै टेमानीले आफ्नो अनुभव, कार्यक्षमता र नेतृत्व क्षमताले पर्सा–२ को समग्र विकासमा ठोस योगदान पुर्याउन सक्ने दाबी गरे। उनी हाल नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष रहेका छन् भने यसअघि वीरगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वसमेत गरिसकेका छन्।
यसका साथै टेमानी नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा नेपाल सरकारको पारवहन बोर्डका सदस्यसमेत रहेका छन्।
















