Logo

१४ माघ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६० प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन्। काउन्सिलले सञ्चालन गरेको एमबीबीएस र बीडीएसको ७४औँ लाइसेन्स परीक्षामा जम्मा ३९.४५ प्रतिशत मात्र उत्तीर्ण भएको काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले जानकारी दिए।

पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थान परीक्षा केन्द्रमा मंगलबार र बुधबार कम्प्युटर प्रणालीमार्फत परीक्षा सञ्चालन गरिएको थियो। परीक्षामा सहभागी ९४३ जनामध्ये ३७२ जना मात्रै उत्तीर्ण भएका छन्।

लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएसतर्फ गरी ९६७ जनाले फाराम भरेका थिए। तीमध्ये २४ जना परीक्षामा अनुपस्थित रहेको रजिष्ट्रार डा. देवले जानकारी दिए।

एमबीबीएसतर्फ ७९३ जनाले फाराम भरेका थिए भने ७७५ जना परीक्षामा सहभागी भएका थिए। सहभागीमध्ये ३०० जना मात्रै उत्तीर्ण भएका छन्, जसको प्रतिशत ३८.७ रहेको छ।

यस्तै, बीडीएसतर्फ १७४ जनाले फाराम भरेका थिए। परीक्षामा १६८ जना सहभागी भएका मध्ये ७२ जना मात्रै उत्तीर्ण भएका छन्, जसको उत्तीर्ण प्रतिशत ४२.८५ रहेको काउन्सिलले जनाएको छ।

यस परीक्षाफलले चिकित्साशास्त्र पढाउने विश्वविद्यालय तथा कलेजहरूको शैक्षिक गुणस्तरमाथि प्रश्न उठाएको छ। तर काउन्सिलका रजिष्ट्रार डा. देवले यसपटक अनुत्तीर्ण हुनेहरूमध्ये अघिल्ला परीक्षामै पटक–पटक फेल भएकाहरूको संख्या बढी रहेको दाबी गरेका छन्।


सम्बन्धित समाचार