Logo

१४ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वमन्त्रीसमेत रहेका प्रदीप यादवसहित ८ जनालाई पार्टीबाट निष्कासन गरेको छ।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीको नीति, सिद्धान्त तथा निर्णय विपरीत पार्टीका आधिकारिक उम्मेदवारहरूको विरुद्ध उम्मेदवारी दिएको आरोपमा जसपा नेपालले प्रदीप यादवसहित चन्दनकुमार सिंह (बारा), आत्माराम साह (बारा), कमरुल्लाह अन्सारी (बारा), उदयकान्त मिश्र (सर्लाही), हरिनारायण यादव (महोत्तरी), नवलकिशोर सिंह (बारा) र डा. शिवजी यादव (महोत्तरी) लाई कारबाही गरेको हो।

प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा प्रदीप यादवले जसपा नेपाल परित्याग गरी नेकपा एमाले प्रवेश गरेका थिए। एमाले प्रवेशसँगै उनले पर्सा निर्वाचन क्षेत्र नं.–१ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् र हाल चुनावी प्रचारप्रसारमा सक्रिय रहेका छन्।

पार्टी परित्याग गरेको एक साताभन्दा बढी समय बितिसकेपछि जसपा नेपालले यादवसहितका नेताहरूलाई कारबाही गर्दै आज विज्ञप्ति जारी गरेको हो।

पार्टीका संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिँदै पार्टीको हित विपरीत गतिविधि गरेको ठहर गर्दै आजकै मितिदेखि उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको उल्लेख गरिएको छ।


सम्बन्धित समाचार