१५ माघ, बारा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । यसपटकको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठका लागि विरासत जोगाउनु फलामको चिउरा चपाउनु सरह देखिएको छ । २०७९ को चुनावी गणित, उम्मेदवारहरूको बदलिएको राजनीतिक धरातल र मतदाताको नयाँ अपेक्षाले यहाँको नतिजा अनपेक्षित हुन सक्ने संकेत गरेको छ ।
एमाले उम्मेदवार किसान श्रेष्ठका लागि सबैभन्दा ठूलो चुनौती उनकै अस्थिर राजनीतिक यात्रा बनेको छ । २०७४ मा तनहुँबाट निर्वाचित श्रेष्ठ एमाले विभाजनका बेला एकीकृत समाजवादीमा आबद्ध भई २०७९ मा बारा क्षेत्रबाट चुनाव लडेका थिए । अहिले चुनावको मुखमा पुनः एमालेमै फर्किएर टिकट पाए पनि स्थानीय कार्यकर्ता र मतदाताबीच उनीप्रति पूर्ण भरोसा देखिँदैन ।
तथ्यांक हेर्ने हो भने २०७९ मा श्रेष्ठले ३० हजार ३४१ मत प्राप्त गर्दा उनलाई समर्थन गर्ने तत्कालीन पाँचदलीय सत्ता गठबन्धनको साझा मत नै २८ हजार ६३५ थियो । यसले उनको व्यक्तिगत मत अत्यन्त सीमित रहेको देखाउँछ । यसपटक एमालेभित्रकै प्रभावशाली नेता एकवाल मियालाई पाखा लगाएर श्रेष्ठलाई टिकट दिइनुले एमालेको संगठित मत विभाजन हुने खतरा बढाएको छ । मियाले गत निर्वाचनमा पार्टीको मतभन्दा ५ हजार ५४८ बढी मत ल्याएका थिए । श्रेष्ठ राजनीतिज्ञभन्दा बढी ‘व्यापारी’ भएको र पैसाको बलमा चुनाव जित्ने रणनीतिमा रहेको आरोप विपक्षीले मात्र होइन, जनस्तरबाट पनि उठ्न थालेको छ ।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका २७ वर्षीय अजय कुशवाहा अहिले चुनावी मैदानमा सबैभन्दा बढी चर्चामा छन् । राष्ट्रिय बास्केटबल खेलाडीका रूपमा परिचित कुशवाहालाई युवाहरूले आफ्नो प्रतिनिधिका रूपमा हेरेका छन् । एकीकृत समाजवादीको खेलकुद महासंघ र सम्पर्क मञ्चमा सीमित राजनीतिक पृष्ठभूमि भए पनि स्वच्छ छवि र स्थानीय युवासँगको निकटताले उनलाई ‘अन्डरडग’ उम्मेदवारको रूपमा स्थापित गरेको छ । किसान श्रेष्ठको ‘व्यावसायिक राजनीति’ विरुद्ध कुशवाहाको युवा र खेलकुद पहिचान यसपटक प्रभावकारी बन्न सक्ने विश्लेषण गरिएको छ ।
कुशवाहा खेलाडी मात्र नभई नवयुवा पुस्ताको प्रतिनिधित्व गर्ने युवा उम्मेदवार पनि हुन् । उनको विचार, लगनशीलता र व्यवहारले युवा पुस्तासँगै पाका मतदाताबाट समेत प्रशंसा बटुलिरहेको देखिन्छ । बारा क्षेत्र नम्बर ४ मा कुशवाहाको उम्मेदवारीले पुराना खेलाडी किसान श्रेष्ठ मात्र होइन, अन्य नयाँ दलका उम्मेदवारहरूलाई समेत दबाबमा पारेको छ ।
नेपाली कांग्रेसले यसपटक अनुभवी नेताहरूको सट्टा श्यामबाबु गुप्तालाई उम्मेदवार बनाएको छ । कांग्रेसले आफ्नो पुरानो र संगठित मत सुरक्षित गर्दै युवामाझ आकर्षण बढाउने उद्देश्यले गुप्तालाई अघि सारेको हो । कांग्रेसको मजबुत संगठन र स्थानीय स्तरमै भिजेको उम्मेदवारको उपस्थितिले एमालेको असन्तुष्ट मत तान्न सक्ने सम्भावना देखिन्छ। गुप्ताले किसान श्रेष्ठलाई ‘बाहिरी जिल्ला’को उम्मेदवारका रूपमा चित्रण गर्दै मतदाताको सहानुभूति बटुल्ने प्रयास गरिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका रहबर अंसारीले प्रतिस्पर्धालाई त्रिकोणात्मक बनाउने प्रयास गरिरहेका छन्। माओवादी केन्द्रको केन्द्रीय सदस्य पद त्यागेर रास्वपामा प्रवेश गरेका अंसारी गैरपरम्परागत राजनीतिज्ञका रूपमा चिनिन्छन् । उनी मधेसका जनभावनाअनुसार स्टन्ट गर्न सिपालु मानिन्छन्। मधेस प्रदेशसभाको बैठकमा आफ्नो अनुहारमा कालो मसी दल्दै प्रदर्शन गरेपछि उनी चर्चामा आएका थिए ।
अंसारी २०७९ मा तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट मधेस प्रदेशसभा सदस्य पदमा पर्सा क्षेत्र नं १ (क)बाट निर्वाचित भएका थिए । स्थापित दलहरूप्रतिको वितृष्णा र भ्रष्टाचारविरोधी एजेन्डा अघि सार्दै केही समयअघि माओवादी केन्द्र परित्याग गरी रास्वपामा प्रवेश गरेका उनी पर्साबाट टिकट नपाएपछि बारा क्षेत्र नम्बर ४ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
अंसारीले बारा ४ मा रहेको मुस्लिम समुदायको मत आफूले पाउने अपेक्षा गरेका छन्। तर मुस्लिम समुदायभित्र एमाले, नेकपा र कांग्रेसका परिपक्व कार्यकर्ताहरूको बलियो उपस्थिति रहेकाले उनको अपेक्षा सहजै पूरा हुने देखिँदैन ।
यस क्षेत्रमा रास्वपाका तर्फबाट उम्मेदवार घोषणा गरिएका इच्छाबहादुर बाग्लेलाई टिकट नदिएपछि रास्वपाभित्रै असन्तुष्टि देखिएको छ, जसका कारण धेरैजसो कार्यकर्ताले अंसारीलाई साथ दिने सम्भावना न्यून देखिन्छ। दल फेर्दै हिँड्ने पात्रहरूलाई यसपटक जनताले पाठ सिकाउने संकेत पनि देखिन थालेको छ ।
बारा क्षेत्र नम्बर ४ का मतदाताहरू यसपटक केवल आश्वासन होइन, पहुँचयोग्य र स्थानीय नेता खोजिरहेका छन् । किसान श्रेष्ठ निर्वाचित भएपछि जनताको सुख–दुःखमा साथ नदिएको र सुरक्षित क्षेत्रको खोजीमा मात्रै बारा आएको गुनासो व्यापक छ। मतदाताको अपेक्षा एकातिर र उमेदवारको व्यवहार अर्कोतिर देखिनुले एमालेलाई अप्ठारो हुने देखिन्छ । जहाँ व्यापारी पृष्ठभूमिका श्रेष्ठभन्दा युवा र जुझारु नेतृत्व उपयुक्त हुने तर्क जनस्तरमा सुनिन थालेको छ ।
एकातिर एमालेप्रतिको घट्दो आकर्षण र अर्कोतिर युवा उम्मेदवारहरूको बलियो उपस्थिति, यी दुवै कारणले किसान श्रेष्ठका लागि यसपटक चुनाव जित्नु निकै चुनौतीपूर्ण देखिन्छ। पैसाको बल र जनमतबीचको यो प्रतिस्पर्धाले बारा ४ को भविष्य कता मोडिने हो, त्यसको छिनोफानो फागुन २१ ले गर्नेछ ।
















