१५ माघ, वीरगञ्ज । प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसको अवसरमा आज वीरगञ्जमा विभिन्न कार्यक्रमहरू आयोजना गरिँदैछ । प्रेस सेन्टर पर्सा शाखाले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्व र सञ्चारकर्मीहरूको हकहितसँग जोडेर विविध कार्यक्रम तय गरेको हो ।
शाखाका अध्यक्ष शिवनाथ यादवका अनुसार आज बिहान ८ बजे वीरगञ्जको ऐतिहासिक घण्टाघरबाट प्रभातफेरी सुरु गरिनेछ । प्रभातफेरी समापन भएलगत्तै वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा ‘आकस्मिक रक्तदान’ कार्यक्रमको आयोजना गरिएको छ । “स्थापना दिवसलाई केवल उत्सवमा मात्र सीमित नगरी जनहित र सामाजिक सेवाका कार्यक्रमलाई प्राथमिकता दिएका हौँ,” अध्यक्ष यादवले भने ।
स्थापना दिवसकै उपलक्ष्यमा भोलि (शुक्रबार) प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै पर्साका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरिने भएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनको लागि यो कार्यक्रमले लोकतान्त्रिक अभ्यासलाई थप बलियो बनाउने विश्वास प्रेस सेन्टर पर्साले लिएको छ।
प्रेस सेन्टर पर्साका सचिव अजित भुजेलले अभिमुखीकरण कार्यक्रममा निर्वाचन, सञ्चार जगतको भूमिका र लोकतान्त्रिक मूल्यमान्यताका विषयमा उम्मेदवारहरूसँग गहिरो छलफल गरिने जानकारी दिए । प्रेस सेन्टरले यस्ता कार्यक्रममार्फत प्रेस स्वतन्त्रता र सामाजिक उत्तरदायित्वको प्रवद्र्धनमा योगदान पुर्याउँदै आएको छ।
स्थापना दिवसका कार्यक्रममा जिल्लाका सक्रिय सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि र सरोकारवालाहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
















