१५ माघ, काठमाडौँ । मङ्गलबार साँझदेखि देशका विभिन्न भागमा वर्षा र हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणाली बुधबारदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणाली बाहिरिएसँगै आज (बिहीबार) देखि देशभरको मौसममा सुधार आउने र आकाश खुल्ने देखिएको छ ।
वरिष्ठ मौसमविद् वरुण पौडेलले प्रणाली बाहिरिए पनि पश्चिमी वायुको सामान्य प्रभाव भने कायमै रहने जानकारी दिनुभयो। “अब अर्को नयाँ मौसमी प्रणाली नआएसम्म मौसम सफा रहनेछ,” उहाँले भन्नुभयो, “तर वर्षाका कारण चिसो भने केही दिनसम्म रहिरहनेछ।”
पछिल्लो २४ घण्टामा देशका पश्चिमी जिल्लाहरूमा मध्यमदेखि भारी वर्षा भएको छ। विभागको तथ्याङ्कअनुसार सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। त्यसैगरी, बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, जाजरकोटमा ३३ र बाजुरामा ३०.२ मिलिमिटर वर्षा भएको छ। काठमाडौँ उपत्यकामा भने न्यून वर्षा भएको छ, जहाँ काठमाडौँमा २.२, ललितपुर र भक्तपुरमा समान ४.८ मिलिमिटर वर्षा मापन गरिएको छ।
यो प्रणालीले मधेस र कोशी प्रदेशलाई भने खासै प्रभाव पार्न सकेन। पश्चिमका उच्च पहाडी तथा हिमाली जिल्लाहरू मनाङ, डोल्पा र रुकुमका उच्च भेगमा भारी हिमपात भएको रिपोर्ट प्राप्त भएको छ।
बिहीबार तराईका धेरैजसो भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लागेको देखियो । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का हिमपात हुन सक्ने मौसमविद्को अनुमान छ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
लामो समयको खडेरीपछि भएको यो वर्षाले हिउँदे बालीलाई केही राहत दिए पनि चिसो बढ्दा वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।
















