Logo

१५ माघ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित मुलपानी क्षेत्रमा गएराति प्रहरी र लुटेरा समूहबीच दोहोरो मुठभेड भएको छ ।

उपत्यकाका विभिन्न स्थानमा श्रृंखलावद्ध रूपमा लुटपाट मच्चाउँदै आएको एउटा ठूलो गिरोहलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले कारबाही चलाएको हो । पछिल्लो समय रातको समयमा पैदलयात्रीहरूलाई पछ्याउने र डरत्रास देखाई गरगहना तथा नगद लुट्ने उजुरीहरू बढेपछि प्रहरीले उक्त क्षेत्रमा उच्च निगरानी बढाएको थियो ।

अप्रेशनका क्रममा शंकास्पद व्यक्तिहरूलाई घेराउ हाल्दा लुटेरा समूहले अवरोध सिर्जना गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाउनुपरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार प्रहरीको कडा प्रतिकारपछि लुटपाटमा प्रत्यक्ष संलग्न रहेका १० जना अभियुक्तहरूलाई नियन्त्रणमा लिन सफलता मिलेको छ । पक्राउ पर्नेहरू लामो समयदेखि आपराधिक गतिविधिमा सक्रिय रहेको र उनीहरूका साथबाट लुटिएका केही सामग्री र हतियार समेत बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले यस घटनालाई सुरक्षा व्यवस्था कडा बनाउने अभियानको एउटा महत्त्वपूर्ण सफलताको रूपमा लिएको छ । एसएसपी थापाले हाल पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको र उनीहरूका अन्य सहयोगीहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिनुभएको छ ।

साथै, हालैका दिनहरूमा मुलपानी वा आसपासका क्षेत्रमा लुटपाटको शिकार भएका सर्वसाधारणलाई तत्काल प्रहरीको सम्पर्कमा आउन समेत आह्वान गरिएको छ । प्रहरीले यस सफल अपरेशनको विस्तृत विवरण र बरामद गरिएका सामग्रीहरू चाँडै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।


सम्बन्धित समाचार