Logo

१५ माघ, काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्व र बागलुङको सीमा क्षेत्रमा परेको भारी हिमपातले काठमाडौंबाट डोल्पाका लागि छुटेका दर्जनौँ यात्रुहरू विगत केही समयदेखि बीच बाटोमै अलपत्र परेका छन् ।

रुकुम पूर्व–बागलुङ खण्डको उच्च पहाडी भूभागमा सडकमा हिउँ जमेपछि सवारी साधनहरू अगाडि बढ्न नसक्दा यात्रुहरूले कठ्याङ्ग्रिने चिसोमा भोकभोकै रात काट्नुपरेको छ । अलपत्र परेकामध्ये अधिकांश डोल्पाका बासिन्दा रहेका छन्, जसमा वृद्धवृद्धा र अशक्त नागरिक समेत रहेकाले उनीहरूको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

बाटोमा न खानपिनको उचित व्यवस्था छ, न त न्यानो बासकै, जसका कारण यात्रुहरूले तत्काल उद्धार र राहतका लागि हारगुहार गरिरहेका छन् । रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारले आफ्नो जिल्लातर्फ परेका यात्रुहरूलाई सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा हिउँ पन्छाएर बागलुङतर्फ पठाइसकिएको जानकारी दिनुभएको छ । तर, रुकुमको सीमा पार गरेलगत्तै बागलुङ खण्डमा पुनः बाक्लो हिउँ र चिप्लो सडकका कारण गाडीहरू रोकिएपछि समस्या थप बल्झिएको हो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले हिजोसम्म निरन्तर हिमपात भएकाले बाटो खुलाउन कठिन भएको बताउँदै आज बिहानैदेखि हिउँ पन्छाउने र चिप्लो सडकमा बालुवा हालेर यातायात सुचारु गर्ने प्रयास भइरहेको स्पष्ट पार्नुभएको छ । दुवै जिल्लाका प्रशासनबीच समन्वय भइरहेकाले आजै यात्रुहरूलाई गन्तव्यतर्फ पठाइने आश्वासन दिइएको छ ।

हिउँमा फसेका यात्रुहरूले भने उद्धारमा ढिलाइ भएको भन्दै गुनासो गरिरहेका छन् । स्थानीय मुकुन्द पौडेलका अनुसार केही यात्रुहरू साना पसलमा आगो तापेर जेनतेन बसेका भए पनि गाडीभित्रै रहेका बिरामी र अशक्तहरूलाई चिसोले निकै सताएको छ । प्रशासनले सडक खुलाउने प्रयास गरिरहेको बताए पनि यात्रुहरूले भने आफूहरूलाई तत्काल न्यानो कपडा, औषधि र खानाको आवश्यकता रहेको बताएका छन् । मौसमी प्रतिकूलताका बीच सुरक्षाकर्मी र डोजर परिचालन गरिएकाले मौसमले साथ दिएमा केही घण्टाभित्रै सडक सुचारु हुने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार