Logo

१५ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

केही दिनदेखि रुघाखोकी र ज्वरोले सताएपछि बुधबार उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका उनलाई श्वासप्रश्वासमा समेत कठिनाइ देखिएपछि चिकित्सकको सल्लाह बमोजिम अस्पताल भर्ना गरिएको हो । शिक्षण अस्पतालमा भीआईपी क्याबिन खाली नभएका कारण उनलाई सोही परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएको छ ।

अस्पताल स्रोतका अनुसार नेता नेपाललाई छातीमा केही संक्रमण र ‘घ्यारघ्यार’ हुने समस्या देखिएको छ । हाल त्रिवि शिक्षण अस्पतालकै छातीरोग विशेषज्ञहरूको टोली उनको उपचारमा संलग्न रहेको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकहरूको निरन्तर निगरानीमा राखिएको बताइएको छ । पूर्व प्रधानमन्त्री नेपालको स्वास्थ्य स्थिति बुझ्न र शीघ्र स्वास्थ्य लाभको कामना गर्न बिहीबार बिहानै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरू अस्पताल पुगेका थिए ।

संयोगवश, सोही अस्पतालको भीआईपी क्याबिनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि उपचाररत रहेका छन् । पछिल्लो समय मौसममा आएको परिवर्तन र बढ्दो चिसोका कारण शीर्ष नेताहरूमा स्वास्थ्य समस्या देखिन थालेको छ । अस्पतालले माधव नेपालको विस्तृत स्वास्थ्य रिपोर्ट र डिस्चार्ज हुने समयबारे थप जानकारी केही समयपछि सार्वजनिक गर्ने जनाएको छ ।


सम्बन्धित समाचार