Logo

१५ माघ, काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नेपालका वाणिज्य बैंकहरूको खुद नाफामा उत्साहजनक सुधार देखिएको छ ।

मुलुकको अर्थतन्त्रमा कायम शिथिलता र कर्जा प्रवाहमा आएको संकुचनका बाबजुद बैंकहरूले आफ्नो कुल नाफामा ११ दशमलव ५१ प्रतिशतको वृद्धि कायम गर्न सफल भएका हुन् । सार्वजनिक विवरणअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले पुस मसान्तसम्म कुल ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३ अर्ब रुपैयाँले बढी हो। सञ्चालनमा रहेका बैंकमध्ये ११ वटाको नाफा बढेको छ भने आठवटाको नाफामा गिरावट आएको छ ।

यस अवधिमा निजी क्षेत्रको अग्रणी नबिल बैंक नाफाको आधारमा सबैभन्दा अगाडि देखिएको छ। बैंकको नेतृत्व तहमा आएको परिवर्तनसँगै नबिलले ४६ दशमलव ७१ प्रतिशतको फड्को मार्दै ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ । प्रतिशतको हिसाबले भने कुमारी बैंकले सबैलाई उछिन्दै ८८६ दशमलव ५० प्रतिशतको चमत्कारिक सुधार गरेको छ । खराब कर्जा व्यवस्थापनमा सफलता मिलेसँगै कुमारी बैंकको नाफा २७ करोडबाट बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको हो । त्यस्तै, सरकारी स्वामित्वका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि क्रमशः १८३ र १३२ प्रतिशतले नाफा बढाएर आफ्नो प्रभाव बलियो बनाएका छन् । ग्लोबल आइएमई बैंक ३ अर्ब २५ करोड नाफासहित दोस्रो स्थानमा सुरक्षित देखिएको छ ।

बैंकिङ क्षेत्रमा सुधारका संकेत देखिए पनि चुनौतीहरू भने अझै कायमै छन् । २० मध्ये आठवटा बैंकको नाफामा गिरावट आउनु र लक्ष्मी सनराइज बैंक २७ करोड रुपैयाँभन्दा बढीको नोक्सानीमा जानुले वित्तीय क्षेत्रको जोखिमलाई संकेत गर्दछ । विशेषगरी ऋणीहरूले समयमा सावाँ–ब्याज तिर्न नसक्दा बढेको निष्क्रिय कर्जा र त्यसबापत गर्नुपर्ने ठूलो प्रोभिजनिङका कारण केही बैंकको सन्तुलन बिग्रिएको छ ।

राष्ट्र बैंकको कसिलो नीति र ब्याजदर अन्तर (स्प्रेड दर) मा आएको संकुचनले आम्दानीका स्रोतहरू साँघुरिँदै गएका छन् । पर्याप्त तरलता भए पनि बजारमा नयाँ लगानीका क्षेत्रहरू नखुल्दा कर्जा प्रवाह सुस्त हुनु बैंकिङ क्षेत्रका लागि आगामी दिनको मुख्य चुनौती बनेको छ ।


सम्बन्धित समाचार