१५ माघ,सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा पालिकास्तरीय नियमित खोपअन्तर्गत एचपीभी (HPV) खोप अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले एचपीभी खोप सञ्चालन गर्न लागिएको हो।
स्वास्थ्य शाखा प्रमुख अजय चौधरीका अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका बालिकालाई अनिवार्य रूपमा एचपीभी खोप प्रदान गरिनेछ। उनले यो अभियान देशभर एकैसाथ माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने जानकारी दिए।
जिराभवानी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नं. ३ स्थित वडा कार्यालयमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा पालिकास्तरीय खोप समन्वय समिति, स्वास्थ्यकर्मी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, लक्षित समूहसम्म पहुँच सुनिश्चित गर्ने र समुदायमा खोपसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो।
















