Logo

१५ माघ, काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित जनजागृति माध्यमिक विद्यालयका एक शिक्षक नाबालिकालाई यौन दुर्व्यवहार गरेको गम्भीर आरोपमा पक्राउ परेका छन् ।

विद्यालय नजिकै रहेको आफ्नै स्टेसनरी पसलमा पुगेकी कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रालाई शिक्षक जितराज गिरीले दुर्व्यवहार गरेको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पीडित बालिकाले आफूमाथि भएको घटनाबारे परिवारलाई जानकारी गराएलगत्तै आक्रोशित आफन्त र अभिभावकले दोषीमाथि कारबाहीको माग गर्दै दबाब दिएपछि प्रहरीले उनलाई हिरासतमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

घटना सार्वजनिक भएपछि विद्यालय परिसरमा तनाव उत्पन्न भएको थियो । सुरुमा आरोपित शिक्षक गिरीले आफूले मायाले गाला मात्र छोएको दाबी गर्दै आरोप अस्वीकार गरेपछि स्थिति थप उत्तेजित बनेको थियो । पीडित पक्षले विद्यालयमा पुगेर छलफल गर्ने क्रममा आरोपितले गल्ती स्वीकार नगरेपछि अवस्था सम्हाल्न प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी काजिकुमार आचार्यका अनुसार पीडित परिवारले किटानी जाहेरी दिइसकेकाले जिल्ला अदालतबाट म्याद थप गरी घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।

शैक्षिक संस्था र शिक्षकजस्तो मर्यादित पदमा रहेका व्यक्तिबाटै विद्यार्थी असुरक्षित भएको भन्दै स्थानीयले कडा आक्रोश व्यक्त गरेका छन् । यसअघि पनि विद्यालय र स्टेसनरी जस्ता सार्वजनिक ठाउँमा बालबालिकामाथि हुने यस्ता संवेदनशील घटनाले समाजमा त्रास पैदा गर्ने गरेको भन्दै पीडितलाई न्याय दिलाउन सरोकारवालाहरूले माग गरेका छन् । प्रहरीले भने घटनाको प्रकृति र उपलब्ध प्रमाणका आधारमा कानुनी कारबाहीलाई कडाइका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ ।


सम्बन्धित समाचार