Logo

१५ माघ, काठमाडौं । आगामी २१ फागुनमा तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि मधेश प्रदेशको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा निकायले विशेष रणनीति तयार पारेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेशका कुल दुई हजार १६० मतदानस्थलमध्ये आधाभन्दा बढी अर्थात् एक हजार २४६ स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । विशेषगरी भारतीय सीमासँग जोडिएका क्षेत्रका मतदानस्थलहरू सुरक्षाका दृष्टिले उच्च जोखिममा रहेकाले ती स्थानलाई प्राथमिकतामा राखेर सुरक्षा गस्ती र अनुगमन बढाइएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले जानकारी दिनुभएको छ ।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ३२ वटा निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा ७५५ मतदानस्थललाई संवेदनशील र बाँकी १५९ स्थललाई मात्र सामान्य वर्गमा वर्गीकरण गरिएको छ । प्रदेशभर कुल चार हजार ४७१ मतदान केन्द्रहरू तोकिएका छन्, जहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी एक हजार २८ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सुरक्षा संयन्त्रले स्थलगत अध्ययनका आधारमा सुरक्षाकर्मीको परिचालन र विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइने बताएको छ ।

मतदाता नामावलीको विवरणअनुसार मधेश प्रदेशमा यसपटक कुल ३५ लाख १७ हजार १२३ मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । जसमा पुरुष मतदाताको सङ्ख्या १९ लाख पाँच हजार ८१९ र महिलाको सङ्ख्या १६ लाख ११ हजार ३०४ रहेको छ । ठूलो सङ्ख्यामा रहेका उम्मेदवार र मतदाताको चापलाई ध्यानमा राख्दै सीमावर्ती क्षेत्रमा हुने सक्ने घुसपैठ र आपराधिक गतिविधि रोक्न नेपाल–भारत सीमा नाकामा समेत कडाइ गरिएको प्रहरीले जनाएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा सुरक्षा निकायले चुनावी अभियान र मतदानको दिनका लागि एकीकृत सुरक्षा योजनालाई अन्तिम रूप दिँदै सुरक्षा प्रबन्ध चुस्त बनाएको छ ।


सम्बन्धित समाचार