Logo

१५माघ, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा उज्यालो नेपाल पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले आइतबारदेखि औपचारिक रूपमा घरदैलो कार्यक्रमको सुरुवात गर्नुभएको छ।

वीरगञ्ज महानगरपालिकाअन्तर्गत सौराहा गाउँबाट सुरु भएको घरदैलो कार्यक्रम भवानिपुर, मनिहारी गाउँ, इनरुवा गाउँ हुँदै हरपतगञ्ज आपौनी गाउँमा पुगेर समापन गरिएको थियो। कार्यक्रमका क्रममा उम्मेदवार सिंहले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, अपेक्षा तथा सुझाव संकलन गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सिंहले युवाले खोजेको नेतृत्व र परिवर्तन युवाबाट नै सम्भव हुने बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र गाउँ–समाजको विकासका लागि काठमाडौंमै धाउनु नपर्ने उल्लेख गर्दै गाउँमै विकास सम्भव रहेको धारणा राख्नुभयो।

“अब सिंहदरबार काठमाडौंमै सीमित हुनु हुँदैन, हरेक गाउँ–घरमा सिंहदरबारको अनुभूति गराउने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो।

उहाँले समावेशी विकास, स्थानीय स्तरमै रोजगारी सृजना र गाउँ केन्द्रित नीति आवश्यक रहेको बताउनुभयो।

घरदैलो कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा उज्यालो नेपाल पार्टीप्रति जनताको उत्साह र विश्वास बढ्दै गएको देखिएको छ।

उम्मेदवार सिंहले आगामी दिनहरूमा पनि निर्वाचन क्षेत्रभित्र निरन्तर जनसम्पर्क र संवादलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


सम्बन्धित समाचार