१५माघ, सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकामा आज बस्ने भनिएको नगरसभा स्थगित भएको छ। अदालतको फैसलाअनुसार एक महिनाभित्र नगरसभा आयोजना गर्नुपर्ने भएपछि आज नगरसभा बस्ने तयारी गरिएको थियो।
तर निर्धारित समयमा नगरपालिका कार्यालयमा उप–प्रमुख नज्मु शेहर, दुई–तीन जना वडा अध्यक्ष तथा पाँच–सात जना वडा सदस्यबाहेक अन्य जनप्रतिनिधि र कर्मचारीको उपस्थिति नहुँदा नगरसभा स्थगित गरिएको बुझिएको छ।
यस विषयमा उप–प्रमुख नज्मु शेहरसँग सम्पर्क गर्दा उहाँले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतलगायत अधिकांश वडा अध्यक्ष र वडा सदस्यको उपस्थिति नहुँदा नगरसभा सञ्चालन गर्न सम्भव नभएको जानकारी दिनुभयो। साथै, निर्वाचन आचारसंहिताका कारण पनि नगरसभा नहुने जानकारी प्राप्त भएपछि सभा स्थगित गरिएको उहाँको भनाइ छ।
उप–प्रमुख शेहरले नगरसभा स्थगितसम्बन्धी सूचना नगर प्रमुख स्वयं उपस्थित भएर जानकारी गराउनुपर्ने भए पनि उहाँ नआएको गुनासो गर्नुभयो।
















