Logo

१६ माघ, वीरगञ्ज । मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरीले वनजङ्गल कुनै खास व्यक्ति वा समूहको मात्र नभई सम्पूर्ण मानव र वन्यजन्तुको साझा सम्पदा भएको बताएका छन् । सवैया साझेदारी वन उपभोक्ता समूहको २२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले वनको संरक्षण र संवर्द्धन गर्नु सबैको साझा कर्तव्य भएकोमा जोड दिए ।

“वनलाई राजनीतिक स्वार्थभन्दा माथि राखेर संरक्षण गर्नुपर्छ,” मन्त्री चौधरीले भने, “वन जोगाएर यसबाट कसरी दिगो आयआर्जन गर्न सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्छ। सबैको सहमति र सहकार्यबाट मात्र प्राकृतिक स्रोतको सही परिचालन सम्भव छ।”

यसैबिच साधारण सभाले सवैया साझेदारी वनको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ । अध्यक्ष पदका लागि लखनलाल शाह तेली, नेक मोहम्मद अन्सारी, हिरालाल राउत कुर्मी र समसुलहोदा मिया तेली गरी चार जनाको उम्मेदवारी परेको थियो । यद्यपि, आपसी समझदारी र छलफल पश्चात् अन्य उम्मेदवारहरू पछि हटेपछि लखनलाल शाह तेली अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी, उपाध्यक्ष पदका लागि अस्लम आलमको मात्र एकल उम्मेदवारी परेकाले उनी निर्विरोध चयन भएका हुन्। कार्यसमितिका अन्य सदस्यहरूको हकमा भने टुङ्गो लाग्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

पर्सा जिल्ला समन्वय समितिका अध्यक्ष निरञ्जन प्रसाद शाह सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले स्वागत मन्तव्य व्यक्त गरेका थिए । भने कार्यक्रमको सहजीकरण जवाहर लाल प्रसाद कुर्मीले गरेका थिए । कार्यक्रममा स्थानीय सरोकारवाला, उपभोक्ता समूहका प्रतिनिधि र वन क्षेत्रका विज्ञहरूको उपस्थिति थियो ।


सम्बन्धित समाचार