१६ माघ, काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभरिको मौसममा बदली आएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको सक्रियतासँगै देशका विभिन्न भूभागमा चिसो बढ्नुका साथै हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ ।
महाशाखाका अनुसार हाल कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा बाक्लो हुस्सु लागेको छ। आज दिउँसो पनि तराईका अधिकांश भूभागमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले जनजीवन र यातायात सेवा सामान्य प्रभावित हुन सक्ने देखिएको छ । कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागमा अहिले आंशिक बादल लागिरहेको छ।
आज दिउँसो देशभरको मौसम आंशिक बदली रहनेछ। विशेषगरी गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुनुका साथै फाट्टफुट्ट वर्षाको समेत सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।
त्यसैगरी, आज राति पनि देशको उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च हिमाली भेगमा रातिको समयमा पनि हल्का हिमपात र वर्षा हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ ।
तराईमा लाग्ने कुहिरो र हिमाली भेगमा हुने हिमपातका कारण तापक्रममा गिरावट आई चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। विशेषगरी यात्रा गर्ने यात्रु, हवाई सेवा र कृषि क्षेत्रमा मौसमको प्रभाव पर्न सक्ने भएकाले अद्यावधिक जानकारी लिइरहन सुझाव दिइएको छ ।
















