१६ माघ, काठमाडौँ । निर्वाचनको महाकुम्भ नजिकिँदै गर्दा निर्वाचन आयोगले मतदाताको सहजताका लागि सातै प्रदेशका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रअनुसारका मतपत्रको नमुना सार्वजनिक गरेको छ । आयोगले यसपटक जिल्लाको सङ्ख्या र उम्मेदवारको चापलाई आधार मानेर ‘थरीथरी’का मतपत्र तयार पारेको छ, जसले मतदान प्रक्रियालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
आयोगका अनुसार यसपटक मतपत्रको आकार उम्मेदवारको सङ्ख्यामा निर्भर रहनेछ । एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र एकभन्दा बढी क्षेत्र भएका जिल्लाका लागि छुट्टाछुट्टै ढाँचाका मतपत्र तय गरिएका छन् । धेरै उम्मेदवार भएका क्षेत्रमा मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका ठाउँमा सानो हुनेछ । विशेषगरी, देशकै सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौँमा उम्मेदवारको सङ्ख्या पनि उच्च रहेकाले यहाँको मतपत्र अन्य जिल्लाको तुलनामा निकै ठूलो र फराकिलो हुने प्रष्ट पारिएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गमदेखि सुगम जिल्लासम्मको मतपत्रको वास्तविक स्वरूप आयोगले बाहिर ल्याएको छ । कर्णालीका सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिम जस्ता एक निर्वाचन क्षेत्र भएका जिल्लादेखि दैलेख र सुर्खेत जस्ता दुई निर्वाचन क्षेत्र भएका जिल्लाका मतपत्र सार्वजनिक भइसकेका छन् । यस्तै, सुदूरपश्चिमका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुराका साथै तीन क्षेत्र भएको कञ्चनपुर र पाँच क्षेत्र भएको कैलालीको मतपत्रको नमुना पनि सार्वजनिक गरिएको छ। अन्य जिल्लाको मतपत्र पनि क्रमशः सार्वजनिक गर्दै जाने आयोगको योजना छ ।
हाल जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम युद्धस्तरमा भइरहेको छ । समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको अवस्थामा आयोगले प्रत्यक्षतर्फको मतपत्रमा ध्यान केन्द्रित गरेको हो । मतदान हुनुअघि नै मतदातालाई ‘कसरी मत हाल्ने?’ भन्ने सिकाउन आयोगले यी नमुना मतपत्रहरू प्रयोग गरी देशव्यापी रूपमा मतदाता सचेतना कार्यक्रमसमेत सुरु गरिसकेको छ। सचेतनाका लागि तयार पारिएका यी नमुना मतपत्रहरू अहिले धमाधम स्थानीय मतदान केन्द्रहरूतर्फ पठाइँदै छ ।
















