१६ माघ, चितवन । चितवनको व्यस्त मुग्लिन-नारायणगढ सडकखण्डमा आज बिहान नाइट बस दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन् । दाङबाट काठमाडौंतर्फ गइरहेको बस बिहान करिब ३ बजेर १० मिनेटमा अनियन्त्रित भई सडकमै पल्टिएको हो ।
लुम्बिनी प्रदेश ०२ ००१ ख ०४६० नम्बरको उक्त बस मुग्लिन नजिकै ‘घुमाउने’ भनेर चिनिने स्थानमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको थियो ।
घाइतेमध्ये १५ जनाको भरतपुरस्थित मौलाकालिका अस्पतालमा, १३ जनाको पुरानो मेडिकल कलेजमा, ४ जनाको नयाँ मेडिकल कलेजमा र ६ जनाको मुग्लिनस्थित जनता केयर अस्पतालमा उपचार भइरहेको छ। अधिकांश घाइतेको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
बस दुर्घटनाका कारण केही समय अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड अहिले पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने थप विवरण आउन बाँकी रहेको छ।
















